मूल्य वृद्धि ३.२ प्रतिशत मात्रै

काठमाडौः गत वर्षको पुसमा सबैभन्दा उच्च रहेको मूल्य वृद्धि यस वर्षको पुससम्म आइपुग्दा ह्वात्तै तल झरेको छ । गत वर्षको पुसमा १२.१ प्रतिशत रहेको मूल्य वृद्धि एक वर्षमा ३.२ प्रतिशतमा ओर्लिएको हो ।
चालू आवको पुस महिनामा समग्र खाद्यको मूद्रास्फिती ऋणात्मक रहेको छ । गत वर्षको ६ महिनासम्म भएको नाकाबन्दीले आपूर्ति व्यवस्था सहज नहुँदा पुस महिनामा वस्तुको मूल्य वर्षभरिकै बढी थियो । तर, अहिले आपूर्ति व्यवस्थामा आएको सुधार र भारतीय बजारमासमेत वस्तु तथा सेवाको मूल्य घटेकाले नेपालमा पनि सामानको मूल्य घटेको हो ।
समीक्षा अवधिमा खाद्यन्नको मूल्य वृद्धि शुन्य दशमलव ७ प्रतिशतले ऋणात्मक छ । गएको वर्ष सो अवधिमा खाद्यन्नको मूल्य वृद्धि १५.२ प्रतिशत थियो । उक्त समूहअन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३.२ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा दुई प्रतिशतले ऋणात्मक छ । त्यसैगरी मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएको हो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको पुससम्म गैर-खाद्यवस्तुको मूल्य वृद्धि ६.२ प्रतिशत रहेको छ । गएको वर्ष सोही अवधिमा गैरखाद्य वस्तुको मूल्य वृद्धि ९.७ प्रतिशत थियो । यस समूहअन्तर्गत लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षालगायतको मूल्यवृद्धि गएको वर्षको तुलनामा न्यून छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा कम १.९ प्रतिशत मूल्य वृद्धि भएको हो । तराईमा २.८ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि भएको छ । गएको वर्ष सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत थियो ।
0 comments
Write Down Your Responses