ज्ञानेन्द्रलाई राजा बनाएर नारायणहिटी फर्काउने प्रस्ताव पारित
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउनेलगायत कार्यदिशालाई पनि बैठकले पारित गरेको छ ।
संवैधानिक राजसंस्थाका विषयलाई पार्टीको महाधिवेशनमा छलफल गरी निर्णय लिइनेछ । तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते भएको एकीकरणमा राजसंस्थाको विषय महाधिवेशनबाट टुङ्गो लगाइने समझदारी गरिएको थियो ।
बैठकमा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमार्फत जनपक्षीय उदारवाद नेपालको अर्थ राजनीतिको आधार हुनुपर्ने निष्कर्ष निकालिएको छ ।
पार्टीले अङ्गीकार गरेको आर्थिक उदारवादमा नवसामन्तवाद, आर्थिक शोषण र यसले प्रोत्साहन गरेको भ्रष्टचारविरुद्ध केन्द्रित हुने आधार तयार गरिएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार बिहान पुनः बस्नेछ । रासस


0 comments
Write Down Your Responses