Welcome to ...

हेवा ‘ए’ बाट १५ मेगावाट बिजुली थपियो : पूर्वाञ्चल लोडसेडिङ मुक्त
फिदिम : मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ। पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो। हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई अर्ब ६० करोड रुपैयाँ लागतमा पूरा भएको हेवा खोला ‘ए’ जलविद्युत गृहस्थित बटम थिचेर आरम्भ गरेका हुन्। हेवा ‘ए’ बाट उत्पादन भएको बिजुली पूर्वाञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा प्रसारण गरिएको छ। आयोजनाको निर्माण कार्य गत मंसिर २२ गते सम्पन्न भएको थियो। तर, विद्युत् प्राधिकरणको फिदिमस्थित सबस्टेशन तयार गर्न नसक्दा बिजुली दुई महिना खेर गएको थियो। पाँचथर पावर कम्पनीले १४.९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण गरेको उक्त आयोजनाबाट गत पुस १९ गतेदेखि ३.५ मेगावाट विद्युत उत्पादन सुरु गरी माघ ७ गतेदेखि केन्द्रीय विद्युत प्रशारण लाइनमा विद्युत जोडिएको थियो। हेवासहित यो वर्ष प्रणालीमा एक सय २० मेगावाट बिजुली थप भएको छ। आयोजना निर्माणका लागि स्थानीयको तीन करोड लगानी छ। त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकसहित अन्य ११ बैंकले लगानी गरेका छन्। ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताले लगानी गरेका हुन्। ३५ प्रतिशत युबि इन्भेष्टमेन्ट कम्पनी लीमिटेड, ३० प्रतिशत एक्सेस इन्भेष्टमेन्ट कम्पनी लीमिटेड काडमाडौको, २० प्रतिशत मेगा भेञ्चर प्रालिको र १५ प्रतिशत स्थानीय आगेजुङ विद्युत् कम्पनी लिमिटेडको लगानीबाट आयोजना निर्माण गरिएको हो। सानिमा बैंकको अगुवाइमा ११ बैंक तथा वित्त संस्थाले एक अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए। पाँचथर पावर कम्पनीद्वारा प्रबर्दित आयोजनामा प्रवद्र्धकले स्वपूँजी बापत ८० करोड रुपैयाँ लगानी गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हेवा ‘ए’ जलविद्युत आयोजनाले देशको विकासमा उत्प्रेरणाको काम गरेको बताए। ‘जलविद्युतको विकासमा नै नेपालको समृद्धि लुकेको छ,’ दाहालले भने, ‘त्यसको थालनी हेवा ‘ए’ बाट सुरु भएको छ। ’ प्रधानमन्त्री दाहालले प्रदेश नं. १ को आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने तमोर जलाशययुक्त आयोजना निर्माणसम्बन्धी प्रक्रिया छिट्टै मन्त्रिपरिषद्बाट पारित गरिने बताए। स्वदेशको लगानी र स्थानीय जनताको सहभागितामा निर्माण हुने जलाशययुक्त तमोर कम्पनी मोडेलबाट निर्माण गरिने पनि दाहालले घोषणा गरे। यसका लागि ऊर्जा मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव आइसकेको जानकारी प्रधानमन्त्री दाहालले दिए। प्रधानमन्त्रीले मुलुकको ऊर्जाको दिगो विकासका लागि जलाशययुक्त आयोजना निर्माणको विकल्प नभएको भन्दै सरकारले बुढीगण्डकी, नलसिंहगाडलाई पनि अघि बढाइने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री जनार्दश शर्माले ‘उज्यालो नेपाल अभियान’ बत्ती बाल्ने काम मात्र नभएर देशलाई समृद्ध बनाउने अभियान रहेको बताए। ‘मैले नियम बनाउनुपर्ने हो तर, म अहिले तल झरेर काम गरिरहेको छु,’ उनले भने ‘कहाँ तार कटियो, कहाँ विद्युत चुहावट भयो त्यसको निगरानी पनि आफैले गरिरहेको छु। ’ देशको हितको निम्ति आफ्नो ओहोदालाइ बिर्सेर काम गरेको उनको भनाइ छ। शर्माले काबेली करिडोर कामले गति नलिएकामा ऊर्जा मन्त्रालयको ध्यान गएको बताए। ‘कावेली करिडोरको प्रशारण लाइनको काम समयमै नसकिँदा मेची अञ्चलनमा उत्पादन भएको विजुली खेर जाने स्थितिमा छ,’ मन्त्री शर्माले भने, ‘अब पनि कामलाइर्र तीब्र गतिमा अघि नबढाए कारबाहीको भागिदार बन्नुपर्छ। ’ उद्घाटन कार्यक्रमलाई पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गरेका थिए। नेम्वाङले विकास निर्माणको काममा सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे। ‘विकासमा कसैले पनि राजनीति गर्नु हुँदैन,’ नेम्वाङले भने, ‘देशको विकासका लागि सबै दलहरु एकजुट भएर अघि बढे नेपालले चाँडै मुहार फेर्छ। ’ कार्यक्रममा निर्वाचनको विषयलाई लिएर दाहोरी चलेको थियो। नेम्वाङले जलविद्युत् आयोजनको स्वीच दवाएर प्रधानमन्ीत्रले बत्ती बालेजस्तै निर्वाचनका लागि पनि प्रधानमन्त्रीले स्वीच दबाउनुपर्ने धारणा राखेका थिए। जवाफमा ऊर्जामन्त्री शर्माले बीचमा तार टुटेकाले स्वीच दवाएर पनि करेन्ट प्रवाह नहुने स्थिति एमालेले ल्याएकाले करेन्ट प्रवाह हुने वातावरण बनाउन एमालेलाई आग्रहर गरे। नेम्वाङलाई जवाफ दिँदै प्रधानमन्त्री दाहालले स्वीच दवाएर पनि टर्वाइन नघुमेकाले निर्वाचनका लागि समस्या भएको बताए।

0 comments

Write Down Your Responses