समाचार
»
यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय
यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ ।
माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो । शक्तिखोरमा माओवादी सेनाका लडाकुको तेस्रो डिभिजन रहेको थियो ।
माओवादी सेनाका पूर्वडेपुटी कमाण्डर तथा उर्जामन्त्री जनाद्र्धन शर्माका अनुसार चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिएको हो।
०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाका लडाकुको प्रमुख मुख्यालय शक्तिखोरमा बनाइएको थियो।
सेना समायोजनअघि करीब चार बर्ष लडाकुहरु त्यहि बसेका थिए । माओवादी लडाकुका लागि सात मुख्य र २१ सहायक शिविर स्थापना गरिएको थियो । शिविर सञ्चालन गरिएका स्थानलाई संग्रालयका रुपमा संरक्षण गरिनु पर्ने माओवादीका नेता तथा कार्यकर्ताले बताउँदै आएका थिए।
बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकसँग २० अर्ब रुपैया ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले भैरव कुमारी गणेशको मासिक पारिश्रमिक र निवृत्तिभरणमा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।
त्यसैगरी बैठकले डढेलधुराको अनिताल गाविसका २, ३, ४ र ८ नम्वर वडाका एक सय २८ रुख कटान गर्ने निर्णय गरेको छ । ती रुखहरु जोखिमपूर्ण अवस्थामा रहेको र त्यहाँ रहेका मानिसहरुले जग्गाधनी प्रमाणपूर्जा रहेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए ।
बैठकले महेन्द्र नारायण निधि अस्पताललाई तीन करोड सहायता दिने निर्णय पनि गरेको छ ।
0 comments
Write Down Your Responses