समाचार
»
पानीमाथि खेती ! अब नेपालमै गर्न सकिने
पानीमाथि खेती ! अब नेपालमै गर्न सकिने
खेती गर्न माटो होइन, पानी र हावा भए पुग्छ

!
पर्याप्त जमिन नभएर आवश्यक तरकारी, सागपात उत्पादन गर्न सक्नुभएको छैन? थोरै जमिन भएर व्यावसायिक खेतीपातीको लागि हच्किनु भएको छ? यदि त्यसो हो भने तपाईसँग केबल जाँगर चाहियो। बाँकी समस्या प्रविधिले समाधान गर्नेछ।
विज्ञान प्रविधिको विकास यति भयो कि अब खेती गर्न जग्गा/जमिन वा माटो होइन हावा र पानीमात्र भएपनि पुग्छ। ‘हाइड्रोपोनिक’ र ‘एरोपोनिक’ नामको प्रविधि प्रयोग गरेर यस्तो खेती गर्न न नेपालमै सम्भव भइसकेको छ।
आजदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय एग्रीटेक एक्स्पोमा कृषि इन्जिनियरिङका विद्यार्थीहरुले यस्तै प्रविधि प्रदर्शन गरेका छन्।
पूर्वाञ्चल क्याम्पस धरानका एग्रो इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुको समूहले बनाएको यो प्रविधिबाट व्यक्तिगतदेखि व्यावसायिकसम्मका खेती गर्न सकिने उनीहरुले बताएका छन्।
माटोबिना पानी र हावामाथि खेती गर्न सकिने गरी प्रविधिको विकास गरिएको र नेपालको कृषिमा यसको लामो भविष्य भएको त्यसमध्येका विद्यार्थी रामजनम चौधरीले बताए।
कुनै पनि बिरुवालाई हुर्किन माटो नभएर त्यसमा पाइने नाइट्रोजन, फस्फोरस, पोटासियम जस्ता तत्वमात्र आवश्यक पर्ने हुँदा त्यस्ता तत्वहरु पानी वा हावाबाट सर्कुलेशन गर्दा सहजै हुर्कन सक्ने चौधरीको तर्क छ।
एग्रो इन्जिनियर सोसाइटीका विद्यार्थीहरुले निर्माण गरेको उक्त प्रविधिमा दुई वटा विधिहरु छन्। विश्वमा खाद्य असुरक्षा बढ्दै जाँदा प्रतिस्क्वायर फिट जमिनको उत्पादकत्व बढाउनतर्फ ध्यानाकर्षण भइरहेको अवस्थामा यो प्रविधि नेपालको लागि उपयुक्त भएकोले आफूहरुले निर्माण गरेको विद्यार्थीहरुको भनाइ छ।
यो प्रविधिमा धेरै फाइदा रहेको र यसले नेपालको कृषि उत्पादनमा क्रान्ति नै ल्याउने उक्त प्रविधि बनाउने समूहका एक चौधरीले जानकारी दिए। ‘जमिनको उत्पाकत्व बढ्छ, त्यस्तै खनजोत गर्नुपर्दैन र अटोमेटिक सिस्टमबाट स्वीचबाट काम हुने हुँदा श्रमशक्तिको पनि बचत हुन्छ’ उनले सेतोपाटीसँग भने।
यो खेती गर्न थोरै जमिनमा धेरै तह बनाएर त्यसबाट धेरैभन्दा धेरै उत्पादन लिन सकिने उनीहरुको विश्वास छ। त्यस्तै व्यावसायिक रुपमा खेती गर्न चाहनेहरुको लागि पनि यो नेपालमाअहिले सुरु भइसकेको छ। हाइड्रोपेनिक्स नेपालले यस्तो प्रविधिको व्यावसायिक विस्तारको लागि पूर्वाधारदेखि तालिम प्रशिक्षणसम्मको व्यवस्था गरिरहेको छ।
उक्त संस्थाका अनुसार यो प्रविधिमा खेती गर्न चाहनेहरुको लागि तालिम प्रशिक्षणको व्यवस्था पनि गरिएको र सम्पूर्ण प्रविधि जडानको व्यवस्था गरिएको छ। पशुपंक्षीको लागि घाँसदेखि व्यावसायिक खेतीपातिसम्मको लागि यो प्रविधि उपयुक्त भएकोले आकर्षण बढिरहेको हाइड्रोपेनिक्स नेपालका संचालकहरुको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ६, २०७३ १६:५४:४६
0 comments
Write Down Your Responses