Welcome to ...

राष्ट्रपतिले शिलान्यास गरेको घर पनि बनेन 1
बारपाक गोरखाः भूकम्प गएको एक वर्षपछि भूकम्पको केन्द्र्रबिन्दु बारपाक पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको गोपाल विकको घर अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । आर्थिक अभावका कारण बारपाक ४ मा रहेको उनको घर पुनर्निर्माण हुन नसकेको हो । राष्ट्रपतिले शिलान्यास गरेपछि विशेष सहयोग पाइएला र घर चाँडै बन्ला भन्ने विकको आस अहिले निराशामा परिणत भएको छ । ‘राष्ट्रपतिले शिलान्यास गर्नुभयो । अब तिम्रो घर त चाँडै बन्ने भयो भनेर सबैले भन्थे', विक भन्छन्, ‘मलाई पनि त्यस्तै लागेको थियो । तर, हल्लाखल्ला मात्र धेरै भयो । काम केही भएन । सहयोग कतैबाट पनि जुटेन ।' फोटो खिच्ने, अन्तर्वार्ता लिने मात्रै धेरै आएका तर घर बनाउन सहयोग गर्ने कोही नआएको उनको गुनासो छ । ‘नाम मात्र आयो, दाम भएन', उनको दुखेसो छ । अहिलेसम्म पनि दिनदिनैजसो फोटो खिच्ने र अन्तर्वार्ता लिने मान्छे आइरहने उनको भनाइ छ । राष्ट्रपतिले शिलान्यास गरेको घर पुनर्निर्माणमा ढिलाइ भएपछि गोरखाका यसअघिका प्रमुख जिल्ला अधिकारीले ‘जसरी पनि' छिटो बनाउन निर्देशन दिएपछि विकलाई थप समस्या आइपर्‍यो । सीडीओको दबाबमा बनाउन थालेको उनको घर प्राविधिक रूपमा फेल हुँदा सरकारी सहयोगबाट समेत वञ्चित भएको उनको गुनासो छ । ‘सीडीओ र सचिव आउनुभयो । तपाईँले तुरुन्तै जग हालिहाल्नुपर्छ, जसरी जेजे गरेर भए पनि चाँडो डीपीसी गरेर जग हाल्नुपर्छ । बरू विभिन्न संघसंस्थासँग पाँच हजार, १० हजार मागेर एक दुई लाख हामी जुटाइदिन्छौं । जग चाहिँ हालिहाल्नू भन्नुभयो', विककी पत्नी कुमारी भन्छिन्, ‘हामी दुई चार वर्षपछि सकेको बेला पक्की घर बनाउँला भनेर बसेका थियौं । सीडीओसाबले जसरी भए पनि बनाउनू भनेपछि फलाम उभ्याएर बनाउने बूढाबूढीको सल्लाह भयो । राष्ट्रपतिले शिलान्यास गरेको घर पुनर्निर्माणमा ढिलाइ भएपछि गोरखाका यसअघिका प्रमुख जिल्ला अधिकारीले ‘जसरी पनि' छिटो बनाउन निर्देशन दिएपछि गोपाल विकलाई थप समस्या आइपर्‍याे । फलाम उभ्याएर घर बनाउन थाल्यौं तर उहाँहरूले सहयोग गर्नु त परको कुरा, सरकारले दिने भनेको तीन लाख रुपैयाँ सहयोग पनि नपाउने भयौं ।' फलामे खाँबो उभ्याएपछि नयाँ प्रमुख जिल्ला अधिकारी आएर ‘ल बल्ल ठीक भएछ' भनेर गएको तर पहिलेको सीडीओले आश्वासन दिएजस्तो आर्थिक सहायता नदिएको उनले बताए । ‘पुस २८ गते नयाँ सीडीओ आउनुभयो । ठीक छ, राम्रै छ, बलियै छ मात्रै भन्नुभयो । त्यति भनेपछि हामीले बोल्ने कुरै भएन । सीडीओले भनेजस्तो सहयोग पाउनु त कता हो कता, ‘खाँबा गाडेर बनाएको घर' भनेर इन्जिनियरले पास गर्न मानेनन्', उनी भन्छन्, ‘पास भयो भनेर घर बनाउने, पास भएन भनेर घर फाल्ने कुरा भएन । टिन बारेर हुन्छ कि, फलेक बारेर हुन्छ, पाल बारेर हुन्छ बनाउनु त परिहाल्यो ।' उनले भुइँतलामा तीन र माथिल्लो तल्लामा तीन गरी छकोठे घर बनाउने योजना सुनाए । राष्ट्रपतिले शिलान्यास गरेको घर भनेर धेरैले अन्तर्वार्ता लिए, चर्चा धेरै भयो तर आफे अवस्था नाजुक रहेको उनीहरूको गुनासो छ । घर बनाउन नसकेर मात्र होइन, उचालेर पछारेकोमा लज्जित भएको उनीहरूको गुनासो छ । ‘सबैले भनेका थिए, ‘एउटा गरिब दलितको घरमा राष्ट्रपतिले टेकेका छन्, शिलान्यास गरेका छन् । अब पक्की घर बन्ने भयो ।' कसैले भन्थे, ‘तँलाई त राष्ट्रपतिले शिलान्यास गर्दा नै घर बनाउन दुई लाख रुपैयाँ हातमा राखिदिएका छन् रे ।' अनि कसैले भन्थे, ‘सबैभन्दा पहिले तेरो घर बन्ने भयो ।' ‘तर हाम्रो नाम चाहिँ बिक्यो, दाम चाहिँ छैन', कुमारी भन्छिन्, ‘अहिले त हुँदाहुँदा हाम्रो घरको फोटो फेसबुकतिर राखेर राष्ट्रपतिले शिलान्यास गरेको गोपाल विकको घर, न टहरो, न घर भनेर फिँजाएका छन् रे । कुन दिनमा राष्ट्रपतिलाई शिलान्यास गर्न दिइएछ भन्ने पनि लाग्छ कहिलेकहीँ त ।' उही समयमा राष्ट्रपतिले शिलान्यास गरेको भूकम्प स्मारकचाहिँ अहिलेसम्म सुरु नगरे पनि हुने, व्यक्तिको घर चाहिँ जसरी पनि अहिल्यै बनाऊ भनेकोमा उनीहरूले दुःख व्यक्त गरे ।

0 comments

Write Down Your Responses