संशोधन प्रस्ताव निर्णयार्थ पेश भए समर्थन फिर्ता लिन्छौंः उपप्रधानमन्त्री थापा
राप्रपाका अध्यक्षसमेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गर्दै भने, ‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिले पनि त्यही छ, म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनै पनि परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं।’
उनले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको र यसको पक्षमा मतदान नगर्ने भनेर भनिसकेकोले अब कति पटक भन्नुपर्ने भन्दै प्रश्न तेर्साए।
मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाइसकेको दाबी गरे।
‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि विशेष तयारी गरिसकेको छु,’ ‘उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु, वार्ता भनेको गोप्य हुनुपर्छ, कसैलाई क्यामेरामा देखाएर बोल्ने कुरा होइन, आज वार्ता सफल हुन नसक्नुको कारण नै पब्लिसिटी गर्ने चलन भएकोले हो, यसले बैठकमा भएका कुराहरुलाई पनि बाहिर ल्याउने र छताछुल्ल पार्ने काम भएको छ, यसले वातावरण बनाउनुको सट्टा बिगारेको छ।’ उनले आफूले पहल गरेको वार्ता सफल हुनेमा विश्वस्त रहेको बताए ।
उनले आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको दाबी गरे।
उनले डा. प्रकाशचन्द्र लोहनीको पार्टी परित्यागले कुनै फरक नपार्ने समेत बताए।
‘तर लोहनीले पार्टी परित्याग गरेको खबरले मलाई दुःखी तुल्याएको छ,’ उनले भने, ‘उहाँहरुले ठीक ढंगले बुझ्न सक्नुभएन।’ यद्यपी उनले लोहनीले राजनीतिबाट सन्यास लिन खोजेको भए आफ्नो भन्नु केही नभएको तर अर्को नयाँ पार्टी खोल्न उक्त कदम चालेको भए आत्मघाती बाहेक अरु केही नहुने ठोकुवा गरे। उनले डा. लोहनीले आफूमाथि लगाएका सबै आरोपहरु कपोकल्पित, असत्य र निराधार भएको दाबी गरे।


0 comments
Write Down Your Responses