समाचार
»
वीरगञ्जमा झडप : एमालेका दुई जिल्ला नेतालाई मोसो दलियो
वीरगञ्जमा झडप : एमालेका दुई जिल्ला नेतालाई मोसो दलियो
वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोश्रो दिन बुधबार पनि वीरगन्जको जनजीवन प्रभावित भएको छ।
बुधबार बिहानदेखि मोर्चाका नेता कार्यकर्ताले वीरगन्जका चोक-चोकमा टायर बालेर प्रदर्शन गरेका कारण यहाको बजार, पसल तथा सार्वजनिक यातायातका सवारी सधान ठप्प रहे । मोर्चाका कार्यकर्ताले वीरगन्जको घण्टाघर, विर्ता, मालपोत चोक, मुर्लीचोक, प्रतिमा चोक, नगवा चोक, बाईपास रोडलगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
बन्दका क्रममा वीरगन्जमा फाट्टफुट्ट रुपमा मोटरसाइकल, ई-रिक्सा, टाँगा चलेपनि वीरगन्जबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन भने बधाबार दिनभर चलेनन्। यस्तै बजार, पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था, वित्तीय संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहे।
वीरगन्जको मिनाबजार बन्द गराउन गएका मोर्चाका नेता कार्यकर्ता र तरकारी व्यापारीबीच झडप भएको छ। तरकारी पसल बन्द गराउँदै हिँडेका मोर्चाका नेता कार्यकर्ताले पसलबाटट तरकारी उठाएर सडकमा फालिदिए पछि मोर्चाका कार्यकर्ता र तरकारी व्यपारीबीच झडप भएको हो।
आक्रोशित व्यापारीहरुले बन्दकर्तालाई लखेटेका थिए। झडपका क्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेम पटेल सामान्य घाइते भएका छन्। बन्दकर्ता र तरकारी व्यपारीबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
सद्भावना पार्टीका वीरगन्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले भने व्यापारीको नाममा एमाले कार्यकर्ता घुसेर आन्दोलनको प्रतिकार गर्ने प्रयास गरे पनि त्यसलाई असफल पारिएको बताए। पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने केहीबेरस्थिति बिग्रन लागेको भए पनि केही समयमै स्थिति सामान्य भएको बताए।
बुधबार नै वीरगन्जमा मधेसी मोर्चाले लाठी भाटासहितको मोटरसाइकल जुलुश निकालेको थियो। घण्टाघर चोकबाट निस्किएको मोटरसाइकल जुलुश मुख्य सडक हुँदै बजार बन्द गराउँदै दुई नम्बर सडकबाट फेरि घण्टाघरमै आएर उत्तरतर्फ लागेको थियो। व्यवसायीले बजार बन्द गराउन अटेर गरेपछि आन्दोलनकारीले लठी भाँटासहितको मोटरसाइकल जुलुस निकालेर बजार बन्द गराएका थिए।
यसैबीच संयुतm लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बुधबार बिहान एमाले बाराका कार्यालय सचिव शंकर भट्टराईलाई मोसो दलेका छन्। कलैया स्थित भरत चोकमा एमालेका कार्यालय सचिव शंकर भट्टराईलाई मोर्चाका कार्यकर्ताले मोसो दलेका हुन्।
यस्तै बाराको कलैया निवासी एमाले कार्यकर्ता रामएकवाल प्रसादलाई पनि मधेशी मोर्चाका कार्यकर्ताले कालोमासो दलेका छन्।
कलैयास्थित भरत चोकमा चिया पसल अगाडी मोर्चाका कार्यकर्ताले प्रसादलाई बुधबार बिहान मोसो दलेका हुन्। मोर्चाको आह्वानका कारण बाराको कलैया पनि बुधबार दिनभर बन्द रहेको थियो।
सप्तरीको राजविराजमा एमालेको मेची महाकाली अभियानविरुद्ध आन्दोलनमा उत्रिएका चार मधेसी मोर्चाका कार्यकर्ताको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्ययसैको विरोधमा मोर्चाले मंगलबार र बुधबार दुई दिन मधेस बन्दको आह्वान गरेको हो।
0 comments
Write Down Your Responses