खाली पेटमा लिची खानु कति घातक ?1
काठमाडौँ, १३ फागुन, तराई वा गर्मी क्षेत्रमा पाइने लिची गर्मी मौसममै उत्पादन हुने गर्दछ । स्वादिष्ट र रसिलो फल लिची गर्मी मौसममै बढी पाइने हुनाले यसको माग पनि अत्यधिक हुने गर्दछ । विशेष गरी केटाकेटीले लिची फल मन पराउने गर्दछन् । अन्य फलफूल जस्तै भए पनि पछिल्लो समय लिचीको विषयमा मानिसले निक्कै गम्भीर हुनपरिरहेको छ । नेपालकै कतिपय क्षेत्रमा लिची सेवन गर्दा बालबालिकाको मृत्यसम्म भएको समाचार हरेक वर्ष आउने गरेकै छन्
। नेपालको तराई क्षेत्रमा बढी उत्पादन हुने लिची खाँदा सो क्षेत्रमा हरेक वर्ष धेरै बालबालिकाले ज्यान गुमाउने गरेका छन् । लिचीको गेडो अड्किएर प्रायः बालबालिकाको ज्यान जाने गरेको छ । तर यसको फल पनि आफैमा कति स्वास्थ्यवद्र्धक र पोषण युक्त छ त्यस तर्फ पनि ध्यान दिनु जरुरी छ । के लिची फल खाएकै कारणले पनि बालबालिकाको ज्यान गइरहेको त छैन ? भारतको बिहार राज्य स्थित मुजफ्फरपुरमा विगत दुई दशकको अवधिमा सयौँ बालबालिकाको ज्यान गइसकेको छ । यसरी ज्यान जानुको कारण पत्ता लगाउन चिकित्सकलाई करिब दुई दशक नै लाग्यो । अन्ततः चिकित्सकहरुले यसरी एक सिजनमा मात्रै दर्जनौ बालबालिकाको ज्यान जानुको कारण पत्ता लगाइ छाडे । सन् २०१४ मा मात्रै सो क्षेत्रमा ३९० बालबालिका विमारी भएपछि अस्पताल भर्ना गरिएको थियो । जसमध्ये १२२ जनाको त निधन नै भयो । स्थानीय भाषामा ‘चमकी’ भनिने सो रोगले ती बालबालिकाहरुको ज्यान लिएको थियो । भारत र अमेरिकाका वैज्ञानिकहरुको संयुक्त प्रयासबाट सो रोगको कारण पत्ता लागेको छ । यो रोग खाली पेटमा धेरै लिची खाएका कारण लागेको उनीहरुको निष्कर्ष छ । करिब ३ वर्षको गहन अध्ययनपछि चिकित्सकहरु यो निष्कर्षमा पुगेका हुन् । उनीहरुका अनुसार लिचीमा हाइपोग्लिसिन ए र मिथाइलेन्साइक्लोप्रोपाइग्लिसीन नामक बिसालु तत्व पाइन्छ । अस्पताल भर्ना भएका ज्यादाजसो बच्चाको पिसाब र रगतमा सोही बिसालु तत्वको मात्रा अधिक पाइएको छ । सोही बिसालु तत्वकै कारण बालबालिकाले ज्यान गुमाउन परिरहेको छ । स्थानीयका अनुसार यसरी अस्पताल भर्ना हुने बच्चाहरुले बिहान खाली पेटमा धेरै लिची खाएका थिए भने बेलुकाको खाना नै खाएका थिएनन् । यसले गर्दा बच्चालाई लिचीले ज्यादा असर गरेको थियो । अभिभावकहरु भन्छन्, ‘लिची पाक्ने सिजनमा बालबालिकाहरु घरमा भन्दा धेरै समय लिची बगानमै हुन्छन् ।’ चिकित्सकहरुका अनुसार बच्चाले खाली पेटमा लिची खाएमा, पहिले नै विमारी भएको अवस्थामा र कुपोषण भएको बेला धेरै लिची खाएमा यो रोगको असर पनि बढी देखिने गर्दछ । उनीहरुले बच्चालाई धेरै लिची खान नदिन, खाली पेटमा खान नदिन, लिची खाएपछि सन्तुलित भोजन खानदिन पनि अभिभावकलाई सल्लाह दिएका छन् । (बीबीसीको सहयोगमा)
0 comments
Write Down Your Responses