Welcome to ...

रोगले थलिएर आमाको मृत्युपछि छोरीको बिचल्‍ली 1
बुटवलः क्षयरोगबाट थलिएकी सीता परियारको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएपछि उनका दुई छोरीहरु अलपत्र परेका छन् । पहिलेदेखि नै रोगले ग्रस्त सीता दुखाईले च्यापेपछि छोरीहरुसंगै फागुन १३ गते अस्पताल आएकी थिइन् । 'आइसीयू' मा उपचार हुँदै गर्दा ज्यान गएको थियो । मृत्यु भएको तीन दिनसम्म सीताको लाश अस्पतालमा अलपत्र छ । बुटवलको हाटबजारको टहरामूनि केही वर्षदेखि जीवन चलाउदै आएकी सीताको शव जस्तै अलपत्र परेका दुई छोरीहरु अनाथ आश्रम पुगेका छन् । आमाको मृत्युपछि अस्पतालमा अलपत्र परेका ११ वर्षिया संगीता र सात वर्षिया सोनु परियारलाई प्रहरीले कदम नेपालको सुरक्षित आवास गृह पुर्याइएको थियो । दुई दिन आवास गृहमा बसेका उनीहरु मङ्गलवार कोटिहवाको अनाथ आश्रम पुगेका छन् । महिला विकास कार्यालय रुपन्देही हुदै उनीहरु त्यहा पुगेका हुन् । अनाथ आश्रममा लगेर राखिएको छ, लुम्बिनी अञ्चल अस्पताल 'आईसीयू' का मेडिकल अधिकृत सागर भण्डारीले वालिका अलपत्र परेको खबर प्रहरीलाई दिएका थिए । सीताले पहिलो श्रीमान्को मृत्यु भएपछि चार वर्षअघि विकास श्रेष्ठसंग विहे गरेकी थिइन् । बिहे गरेपनि श्रेष्ठले सीतालाई आफ्नो घर देविनगर लगेका थिएनन् । अन्दाजी ३५ वर्षीया मृतक सीताका दोस्रा श्रीमान श्रेष्ठ आइतबार अस्पताल पुगेपनि लास उठाएनन् । 'अहिलेसम्म कसैले जिम्मा लिएका छैनन्,' लुम्बिनी अञ्चल अस्पतालमा रहेको प्रहरी यूनिटका भोजबहादुर पौडेलले भने । आवास गृहमा आश्रय लिइरहेकी संगिताले आमा र सौतेनीबाबाले हाटबजारमा जुत्ता सिलाउने गरेको बताइन । संगीताले आमा विरामी भएपछि हाटबजारकै एक होटलमा भाडा माझ्न थालेकी थिइन । 'रोगले बेस्सरी च्यापेपछि अस्पताल आउनुभएको हो,' त्यही वित्नुभयो, आँखाबाट आँसु झार्दै उनले भनिन् । अहिलेसम्म विद्यालयमा पाइला नराखेका दुई वालिकालाई न त मावली घर थाहा छ । न त पहिलो वाबुको घर नै । आफू सात वर्षकी हुँदा वुवाको मृत्यु भएको संगिता बताउछिन्, तर उनलाई धेरै कुरा थाहा छैन् । वाबाको मृत्युपछि किरिया उम्केको दिन काकाबा (विकास श्रेष्ठ) संग आमाले विहे गरेको उनले बताइन् । आमाले विहे गरेपछि उनीहरु पनि संगै आए । उनीहरु चारैजना हाटबजारको माछा बेच्ने हटरामा बस्दै आएका थिए । सीताको पहिलो श्रीमान तर्फकी जेठी छोरी भने विहे गरेर काठमाण्डौंमा छिन । प्रहरीले उनलाई आमाको शव बुझ्न आग्रह गर्दा अस्वीकार गरिन् । कसैले शव नबुझेपछि बुटवल उपमहानगरपालिकाले बेवारिसी शव अन्तर्गत व्यवस्थापन गर्ने अस्पताल प्रहरी युनिटका पौडेलले बताए ।

0 comments

Write Down Your Responses