संविधान संशोधन गरेर निर्वाचनमा जानु मुख्य दायित्व : प्रधानमन्त्री दाहाल
सिरहाको लहानमा आजदेखि सुरु भएको श्रीमद्भागवत महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नभएकाले संविधान संशोधन प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने बताए ।
शान्ति, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी भएको बताउँदै प्रधाननन्त्री दाहालले संविधान संशोधन गरेर चुनाव गराउन नसकिए अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेकाले यसमा सबै जनताको साथ र सहयोग आवश्यक भएको बताए ।
पछिल्ला दिनमा मधेस छुट्टयाउने र मधेसीलाई विदेशी जस्तो देख्दै एउटै खास वर्ग र समुदायको पक्ष लिने अन्ध–राष्ट्रवादका कारण मुलुक गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दुवै राष्ट्रवाद नभएकाले मधेसी जनता र पहाडी जनता दुवैलाई एकठाउँमा राखेर मध्यमार्ग रोज्नुमा नै सवैको भलो हुने बताए ।
मधेसले नै आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग कोट्याउँदै नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेसीको अधिकारप्रति जहिलेपनि आफू सजग रहेको बताए ।
गरिब विपन्न र दलित समुदायका छात्राबास र वृद्धाश्रमका लागि आयोजना गरिएको महायज्ञमा सरकारको पनि साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा कानुन मन्त्री अजय शंकर नायकले सरकार निर्वाचन गराउन आतुर रहेपनि राजनीतिक सहमति नभएकाले निर्वाचनको मिति घोषणा गर्न नसकिएको बताए ।
सो अवसरमा सांसदहरु प्रदीप गिरि, पद्मनारायण चौधरी, रामचन्द्र यादव, डा गणेश मण्डलले आ–आफ्ना धारणा राखेका थिए । महायज्ञ फाल्गुन १४ गतेसम्म चल्नेछ ।
पण्डित दीनबन्धु पोखरेल वाचक रहनुभएको महायज्ञ कार्यक्रमको अध्यक्षता पवन मुन्धडाले गर्नु भएको थियो । यसअघि भएको कलश यात्रामा दुईसय महिला सहभागी थिए ।


0 comments
Write Down Your Responses