Welcome to ...

संसारका आधाभन्दा बढी अर्बपति आफ्नै बलबुतामा धनी भएका हुन् । र, यो संख्या बढीरहेको छ ।
फाल्गुन ८, २०७३- २० औं शताब्दीको सुरुवातमा नेपोलियोन हिल नामक युवा पत्रकारले जीवनभर काम गर्नुपर्ने जिम्मेवारी पाए– विश्वभरका सयौं सफल मानिसहरुको जीवनका बारे पढेर उनीहरु कसरी सफल भए भन्नेबारे लेख्ने । उनले सफल मानिएका उद्योगी, व्यवसायीको जीवनी पढेर दुई दशक बिताए र पुस्तक निकाले– थिङ्क एण्ड ग्रो रीच । सन् १९३७ मा सार्वजनिक गरिएको यो पुस्तक अहिले पनि सफल बन्न चाहनेहरुको लागि मार्गदर्शक बनिरहेको छ । हिलले आफ्नो पुस्तकमा पाठकहरुलाई के भन्न खोजेका छन् भने त्यो बेला सफल भएका व्यक्तिहरु सन् १९२९ देखि १९३६ को आर्थिक संकटबाट आर्थिक र भावनात्मकरुपमा दरिलो बनेका थिए । ‘हामीले के बुझ्नुपर्छ भने जसले धेरै धन कमाएका छन् उनीहरुले धन कमाउनुभन्दा पहिला केही सपना देखेका थिए, आशा राखेका थिए, चाहना राखेका थिए र योजना बनाएका थिए,’ हिलले लेखेका छन् । समाज र अर्थतन्त्रले कसरी काम गर्छ भन्ने द्विविधा भएको यो समयमा धन कमाउने सूत्र अनुशासन, चाहना र आफूप्रतिको विश्वास हो भन्नु नाटकीय सकारात्मक सोचजस्तो लाग्छ । अर्बपति बन्ने सम्भावना पातलिँदै गएको छ । विश्वभर धनसम्पतिको अनुसन्धान गर्ने वेल्थ–एक्स नामक संस्थाले गरेको अध्ययनअनुसार सन् २०१५ मा विश्वभर २ हजार ४ सय ७३ अर्बपति थिए । जुन त्यसको अघिल्लो वर्षको भन्दा १ सय ४८ बढी हो र यो संसारको जनसंख्या ७ दशमलव ३ बिलियनको ० दशमलव ००००३ प्रतिशत मात्र हो । हिलजस्ता आशावादीका लागि वेल्थ–एक्सको अर्को तथ्यांक महत्वपूर्ण हुनसक्छ– संसारका आधाभन्दा बढी अर्बपति आफ्नै बलबुतामा धनी भएका हुन् । र, यो संख्या बढीरहेको छ । आफ्नै बलबुतामा अर्बपति बनेकाहरुको कूल सम्पति अर्बपतिको सम्पतिको ५७ प्रतिशत छ । जुन ४ दशमलव ३ ट्रिलियन डलरभन्दा बढी हो । यो सन् २०१५ को तथ्यांक हो र २०१४ भन्दा यो तथ्यांक ७ प्रतिशतले बढी हो । वेल्थ–एक्सको तथ्यांकअनुसार पुख्र्यौली सम्पतिका कारण अर्बपति हुनेको संख्या ३ सय २३ छ र उनीहरुको संख्या सन् २०१४ को भन्दा २९ प्रतिशतले घटेको छ । बढ्दो प्रविधि बजारले अहिलेका धेरै अर्बपतिहरुलाई फाइदा गरेको छ । उबरका संस्थापक तथा प्रमुख कार्यकारी ट्राभिस कालानिक यसैका उदाहरण हुन् । ‘धेरैसँग राम्रो आइडिया हुन्छ तर आफ्नो सोचाईलाई ठूलो व्यापारमा बदल्नु फरक कुरा हो,’ वेल्थ–एक्सका अनुसन्धान निर्देशक माया इम्बेर्ग भन्छिन्, ‘अर्बपतिहरु आफ्नो लक्ष्यमा एकदमै केन्द्रित हुने गर्छन् ।’ हिलले आफ्नो पुस्तकमा दाबी गरेअनुसार कुनै कुरामा केन्द्रित हुने र दृढ हुने स्वभाव सबै मानिसमा हुन्छ । उनले आफ्नो पुस्तकमा बत्तीको आविष्कार गर्नु अघि थोमस अल्बा एडिसन हजारौंपटक असफल भएको र प्राविधिक कठिनाइका बाबजुत भी–८ मोटर बनाउन हेनरी फोर्डले आफ्ना ईन्जिनियरहरुलाई गरेको प्रोत्साहनको उदाहरण दिएका छन् । ‘पैसा कमाउनको लागि सही योजना नबनाउँदा गरिबीमा बाँच्न बाध्य हजारौं मानिस भेट्टाउन सकिन्छ जसले फोर्डलेभन्दा धेरै पढेका थिए,’ हिलले लेखेका छन् । वेल्थ–एक्सले विश्वभर आफ्ना १ सय ५० अनुसन्धानकर्ता खटाएको छ जसले धनी मानिसहरुको बारे तथ्य संकलन गर्छन् । यो तथ्यांकअनुसार कोही हावार्ड पढ्यो भने पनि अर्बपति बन्ने सम्भावना बढी राख्छ किनकी अहिलेका धेरे अर्बपति हावार्डमा पढेका छन् । स्ट्याण्डफोर्ड अर्बपति जन्माउने यूनिभर्सिटीको दोस्रो नम्बरमा पर्छ । धनीहरुबारे अध्ययन गर्ने अर्को संस्था एप्रिुभ्ड इन्डेक्सका अनुसार अहिलेका अर्बपतिमध्ये धेरैको ईन्जिनियरिङ डिग्री छ र बिजनेस दोस्रो नम्बरमा पर्छ । अर्बपतिमध्ये केही मानविकी संकायमा डिग्री गर्नेहरु पनि छन् । सबैलाई थाहा भएकै कुरा हो कि फेसबुक संस्थापक मार्क जुकरवर्ग र माईक्रोसफ्टका बिल गेट्स हावार्डका ड्रप आउट हुन् । तर, यो सूचीमा उनीहरु मात्रै छैनन् । विश्वभरका करिब ३० प्रतिशत अर्बपतिले डिग्री लिएकै छैनन् । ‘हुर्किने बेलामा तपाईंलाई के सिकाईएको छ भन्ने कुरामा फरक पर्छ,’ एप्रिुभ्ड इन्डेक्सका अनुसन्धान प्रमुख ग्रेस गारल्याण्ड भन्छन् । तथ्यांकलाई हेर्दा, महिला अर्बपति बन्नु गाह्रो काम हो । सन् २०१५ मा १ सय ४८ मध्ये १ सय ४९ अर्बपति पुरुष थिए । वेल्थ–एक्सका अनुसार अर्बपतिको सूचीमा १० भित्र अटाउने पनि सबै पुरुष छन् । अहिले पनि मानिसलाई सफल बन्न सघाउने गुरु र सामान्य मानिसहरुसमेत धनीहरुको जीवनी र उनीहरुको भनाइ पढ्न छाडेका छैनन् जसमा उनीहरु सफलताको सुत्र भेट्टाउन खोजीरहेका छन् । चीनमा स्पोर्टस् मार्केटिङ कम्पनी चलाइरहेका एन्ड्रेउ कोलिनले अर्बपतिको पढ्ने बानीबारे लेखेका छन् । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी र लगानीकर्ता वारेन ई. बफेट धेरे पढ्ने अर्बपतिमा पर्छन् । संसारका सबैभन्दा धनी बिल गेट्सले एकपटक भनेका थिए, ‘अहिले पनि पढाई नै मेरो नयाँ कुरा सिक्ने र आफ्नो बुझाई परीक्षण गर्ने तरिका हो ।’ फोर्ब्स म्यागेजिनलाई केही समयअघि दिएको अन्तर्वातामा बिल गेट्सका बुवा विलियम गेट्सले भनेका थिए बिल गेट्स सानो छदा हरेक प्रकारका किताब पढ्ने गर्थे । ‘छोरो पढेकोमा म निकै खुशी हुन्थें तर उनी यति पढ्थे कि हामीले डिनर टेबलमा किताब राख्न नपाइने नियम नै बनाउनु पर्‍यो,’ उनले भने । कोलिन्सले भनेका छन् अर्बपतिहरुमध्ये धेरैले आफूलाई सफलताको लागि सहयोग गर्ने अभिभावक पाएका थिए । गेट्सका अभिभावकले पनि उनी हाइ स्कुलमा हुँदा बिदाको अवधीमा स्थानीय विद्युत गृहको ग्रिड म्यानेजमेन्ट सिस्टममा काम गर्ने व्यवस्था मिलाएका थिए । भर्जिन ग्रुपका संस्थापक तथा अर्बपति रिचार्ड ब्रान्सन भन्छन्, ‘मेरा बुवा वकिल थिए र उनले नै मलाई ठूला सपना देख्नुपर्छ भन्ने सिकाए ।’ उनका अनुसार पिताले नै उनलाई उत्कृष्ट चिज चाहने धारणा बसाए । उनको पितालाई सम्झिंदै ब्रान्सनले लेखेका छन्, ‘मेरो पिताबाट सिकेको अर्को महत्वपूर्ण कुरा, जसले मेरो जीवनमा महत्वपूर्ण प्रभाव छ, के हो भने यदि कुनै काम गर्न योग्य छ भने त्यो राम्ररी गर्न योग्य छ । उनको यो भनाइ सानै उमेरदेखि मेरो दिमागमा छ ।’ आफ्नो लेखमा कोलिन्सले लेखेका छन् कि उनी अष्ट्रेलियामा हुँदा उनका पिताले उनलाई ‘थिङ्क एण्ड ग्रो रिच’ नामक पुस्तक पढ्न लगाएका थिए र उनलाई कसरी फरक तरिकाले कसरी सम्पति आर्जन भन्ने कुरा सिकाएका थिए । ‘मान्छेहरु जन्मजात उद्यमी हुन्छन् भन्ने तर्क हास्यास्पद हो,’ उनी भन्छन्, ‘कोही जन्मजात उद्यमी हुँदैनन्, उनीहरु बन्छन् ।’ ‘तिमीमा नडग्मगाउने व्यक्तिगत आत्मविश्वास चाहिन्छ । यो नै अर्बपतिमा नभई नहुने गुण हो,’ उनी भन्छन् ।

0 comments

Write Down Your Responses