अमेरिका कठीन भएपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी ओइरिए, अवसर र चुनौती बराबर
उच्च अध्यनको आकर्षक केन्द्र हो अस्ट्रेलिया । राष्ट्रपति ट्रम्पले अमेरिकामा रेड कार्ड देखाउन थालेपछि नेपाली मात्र होइन दक्षिण एसियानै अहिले अस्ट्रेलियातिर सोझिएको छ। गतिलो शैक्षिक गन्तब्य र कमाउ थलोको रुपमा परिचित बनेको अस्ट्रेलियामा विद्यार्थीको ओइरो लाग्न थालेपछि यँहाका शैक्षिक परामर्श केन्द्रसँगै कलेजहरुको चहल पहल पनि बढेको छ।
एनआरएन अध्यक्ष शेष घलेले मेलवर्न इन्सिच्यूट अफ टेक्नोलोजी (एमआइटी) खोलेर बाटो देखाएपछि अहिले अष्ट्रेलियामा एक दर्जनभन्दा बढी कलेजहरू नेपालीको स्वामित्वमा सञ्चालित छन्।
स्नातक र स्नातकोत्तर तहको पढाइ हुने एमआइटी एक मात्र नेपालीको स्वामित्वको कलेज हो। अन्य कलेजमा डिप्लोमा, एड्भान्स डिप्लोमा र सर्टिफीकेट थ्री र फोरका पढाइ हुन्छन्।
यो अस्ट्रेलिया सरकारको भोकशनल एजुकेशन एन्ड ट्रेनिङका रुपमा अगाडि सारेको भेट शैक्षिक प्रणाली हो। स्कुल र विश्वविद्यालय बिचको समयमा दक्षता अभिवृद्धि गर्ने शिक्षाका रूपमा यसलाई परिभाषित गरिन्छ।
राम्रा प्रतिशत र आइएलटीएस वा पीटीमा राम्रो ल्याउने विद्यार्थीको हकमा सिधै विश्वविद्यालयमा प्रवेश सहज हुन्छ। मध्यम पढाइ र प्रतिशतमा औषत आउनेको लागि अहिले यस्तै विद्यालय आकर्षणका केन्द्र बनेका छन्। पढाइमा सजिलो, सस्तो र कमाइ खाने बाटोका लागि यस्ता कलेजहरू धेरै दक्षिण एशियाली विद्यार्थीको आकर्षण बनेको छ।
पढाइसँगै कमाइ हुने बाटो रोज्दा कतिले डिग्री होइन, पगरी पाएका छन्। यही बसेकालाई आफ्नो प्रवेशाज्ञा र पढाइ अनि कमाइ अगाडि बढाउन यस्ता कलेजहरु उपयोगी बन्दै आएका छन्। तर, नेपालबाट आउने विद्यार्थीको सवालमा यो डिग्री सरदर मानिन्छ।
डिप्लोमा र एडभान्स डिप्लोमाका कोर्सका प्राविधिक पक्षमा भने उपलब्धिमुलक मानिन्छ। नर्सिङ, प्लम्बिङ र कुकरी ,बेकरीले धेरै नेपालीको स्थायी बसोबासको पनि वाटो खुलाएका छन्।
कलेज खुल्नु र सञ्चालमा आउनु हाम्रा लागि राम्रै हो । तर, विद्यार्थीको सवालमा वार्षिक शूल्कमा फरक फरक तथ्य बाहिर आएपछि यस विषयमा सम्बन्धित निकायसँग जिज्ञासा राखेका थियौ।
‘उच्च अध्ययनको क्रममा अनुभवको बाटो संगाल्ने यो एउटा माध्यम पनि हो,’ एजुकेसन कन्सल्टेन्सी अफ अस्ट्रेलियन एसोसिएसन (एक्का)का अध्यक्ष निरज श्रेष्ठले सेतोपाटीलाई भने,‘यो अस्ट्रेलियन सरकारले डिजाइन गरेको शिक्षा पद्धती हो र अहिले अन्तर्राष्ट्रिय विद्यार्थी पनि यसमा आकर्षित हुन थालेका छन्।’
निरजको भाषामा भन्ने हो भने भेट कोर्स मध्यम र औषत विद्यार्थीका लागि अस्ट्रेलिया पढ्ने बाटो हो। तर, पढाइ र फिका विषयबारे अस्ट्रेलियन सरकारसँग अनुमती लिएर गर्ने यस्ता विषयमा त्यति फरक नपर्ने र बाहिरबाट आउँदा तथा यही बसेर पढ्दा थोरै तलमाथि हुनु स्वभाविक रहेको उनले बताए।
यता विद्यार्थीले अफसोर र अनसोरको पढाइ शुल्कका बारेमा देखिएको उतारचढावबारे केही नबुझेको बताएका छन्।
‘नेपालबाट आउँदा यही कोर्स पढ्न १० हजार डलर र यता भर्ना हुँदा पाँच, ६ हजारमै हुने यो कुरा बुझिएन,’ नेपालबाट आएर दोस्रो वर्षमा पढ्दै गरेका काठमाडौ डिल्लीबजारका नबिन तिम्सिनाले सेतोपाटीसँग भने।
उनीसँगै पढ्ने अर्का सुबेदी थरका विद्यार्थीले अस्ट्रेलियाको कलेज देखेर छक्क परेको बताए। ‘नेपालमा हुँदा कलेज कत्रो होला र कस्तो पढाइ होला भन्ने ठानेको थिएँ, तर यहाँ पढाइ हुने कलेज त नेपालका ल्याङ्ग्योज इन्सिच्यूट जत्रो पो रहेछ।’
कलेज शूल्कका बारेमा यहाँको ब्यवस्थित कलेजमध्येको एक हाम्रो कलेजका सन्चालक दीपक खनालले त्यस्तो खासै फरक नभएको बताए। ‘नेपालमा कार्यालय सञ्चालन र प्रोसेसिङ खर्च केही लागे पनि अन्य शूल्कमा फरक हुँदैन,’ खनालले भने, ‘अफसोर र अनसोरको शैक्षिक शुल्कमा केही भिन्नता होला तर विद्यार्थीले देखेको जस्तो भने होइन।’
नेपालबाट आएर पढ्ने विद्यार्थीलाई दोस्रो वर्षमा दिइने छात्रबृत्तिले पनि फीमा केही घटबढ देखिएको खनालले सेतोपाटीलाई बताए। ‘आइएलटीएस र प्रसेन्टेज राम्रो आउने विद्यार्थीका लागि विशेष छात्रवृत्तिको ब्यवस्था भएकोले दोस्रो वर्ष फीमा केही सहुलियत पक्कै हुन्छ,’ खनालले प्रष्ट पारे।
सिड्नीका महंगा बिल्डीङका ठड्याइएका केही कलेजले शैक्षिक केन्द्रको अनुभूती भने दिन नसकेको इलामका समिर नकर्मीले बताए। ‘कलेजको चाप र पढाइको विषय हेरिकन आवश्यक भौतिक पूर्वाधार सरकारद्धारा स्वीकृत भए पनि हामीले सोचेअनुसारको नहुँदो रहेछ,’ एकाउन्टीङमा डिप्लोमा गरिरहेका नकर्मीले बताए।
विदेशको पढाइकै सवालमा युनिभर्सिटी र डिप्लोमाको पढाइमा भने आकाश पातालको फरक पाइन्छ। ब्याचलर र मास्टर्स पढ्नेका लागि फी तिर्न र कलेज अनि असाइनमेन्टले रातको निन्द्रा र दिनको चयन हराउँछ।
सरकारले वार्षिक आम्दानीमा थोरै कमाइ हुनेको लागि शैक्षिक अनुदानको ब्यवस्था गरेको हुन्छ। पुराना कलेजहरुका लागि यो भेट फी हेल्प लोन पनि निकै आकर्षण बनेको थियो। तर नयाँ कलेजका हकमा भने यो लागू भएको छैन।
यतिखेर नेपालीको स्वामित्वमा रहेका करिब एक दर्जन कलेजहरु सिडनी, ब्रिसबेन र मेलवर्नमा सञ्चालित छन्।
‘यो भनेको खासै ठूलो विषय होइन, किनभने पहिलो पटक भर्ना हुने विद्यार्थीका लागि पनि नेपालमा केही बढी फी लाग्छ, यस्तै हो यहाँको सवालमा पनि,’ सिड्नीका कानुन व्यवसायी खिलेन्द्रराज तिम्सीनाले सेतोपाटीलाई बताए।
‘पहिलो वर्ष नेपालबाट आउँदा त्यस्तो देखिएको हो, यहाँ पढ्न आको दोस्रो वर्षदेखि कलेजले विद्यार्थीलाई आकर्षण गर्न छात्रवृत्ति र सेवा सुविधा दिएका कारण केही फरक परेको हुन सक्छ,’ उनले भने, ‘नेपालीहरुले अस्ट्रेलियाको शैक्षिक ब्यवशायमा हामफाल्नु हाम्रो लागि शुभ संकेत भने पक्कै हो ,यसमा हामी खुसी हुनुपर्छ।’
प्रकाशित मिति: मंगलबार, फाल्गुण १०, २०७३ १६:५७:०९


0 comments
Write Down Your Responses