InterViews
»
राजनीति रिटायर्डहरुले मात्रै काम गर्ने र पैसा कमाउने ठाउँ होइन'
राजनीति रिटायर्डहरुले मात्रै काम गर्ने र पैसा कमाउने ठाउँ होइन'
हालै सम्पन्न महाधिवेशनबाट राप्रपामा धेरै कलाकारको प्रवेश भयो। प्रवेश गर्नेमध्येकी नायिका रेखा थापा भने प्रवेशलगत्तै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन्। केन्द्रीय सदस्य थापासँगको छोटो वार्ता:
तपाईंलाई राजनीतिमा लाग्ने सोच किन आयो?
कलाकार होस् वा अन्य पेसा, व्यवसायमा लागेको मानिसले देशको सेवा गरिरहेको हुन्छ। मैले पनि चलचित्रमार्फत महिलाको विषय सशक्त रूपमा उठाइरहेकी हुन्छु। तर यस क्षेत्रमा रहेका अन्य थुप्रै समस्याको समाधान गर्न मैले राजनीतिमा प्रवेश गरेकी हुँ
देशको सेवा गर्नु मेरो पनि दायित्व हो। बिग्रिएको कुरा बनाउनु पर्यो भनेर मैले यो बाटो रोजेकी हुँ। हाम्रै उमेरका लाखौं युवा विदेशिन बाध्य छन्। भोलिको पुस्ताले हामीलाई नसरापून् भनेर भताभुंग भएको घर नेपाललाई म बनाउन चाहन्छु।
पहिले माओवादीमा प्रवेश गर्नुभयो, अहिले राप्रपामा आउनुभयो, पार्टी फेर्ने काम किन गर्नुभयो?
यो स्वेच्छाको कुरा हो। देशका कैयौं शीर्ष नेताहरू त कहिले कुन दल कहिले कुन दलमा लाग्छन्। मैले पनि दल त परिवर्तन गरेको हो नि, देशै परिवर्तन गरेको छ छैन नि ! धर्म त परिवर्तन गरेको छैन नि।
राप्रपाको केन्द्रीय सदस्य निर्वाचित हुँदा कस्तो अनुभूति गर्नुभयो ?
मप्रतिको नेतृत्व क्षमतालाई विश्वास गरेर मलाई जिताउनुभएकाले खुसी लागेको छ। यसले मलाई थप सक्रिय भएर काम गर्न प्रोत्साहन मिलेको छ। म यो मतलाई खेर जान दिन्नँ।
राजनीतिमा महिलाको संख्या बढाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले महिला नै मिल्नु जरुरी छ। महिला महिलाबीच खुट्टा तान्ने प्रवृत्ति कायमै छ। ठूलो पार्टीका केन्द्रीयस्तरको पदाधिकारीमा अझै पनि पुरुषकै बाहुल्य छ।
संविधानले दिएको ३३ प्रतिशत सहभागिताको कुरा कार्यान्वयन भएको छैन। हामी महिलाले एउटै आवाज लिएर अगाडि बढे मात्रै हाम्रो हक अधिकार सुनिश्चित गरी राजनीतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता बढाउन सक्छौं।
स्थानीय निकायको निर्वाचनमार्फत महिलाको संख्या कसरी बढाउन सकिएला ?
महिलाको स्थान भनेर मात्रै हुँदैन, क्षमताको आधारमा पनि उठ्नुपर्छ। साँच्चै नै नेतृत्व गर्न सक्ने व्यक्ति चाहिन्छ। हामी हरेक क्षेत्रमा नयाँ अनुहार चाहन्छौं भने राजनीतिमा किन नचाहने। पुराना नेताहरूले केही गरेका छैनन् भन्ने थाहा हुँदाहुँदै किन पुरानै नेतालाई भोट दिने त। परिवर्तन जनतामा पनि हुनु जरुरी छ।
देश बनाउन सबैजना पदमै पुग्नुपर्ने हो र?
नीति निर्माणको तहमा पुग्दा धेरै परिवर्तन गर्न सकिन्छ।
हिजोआज नयाँ दल खोल्ने ट्रेन्ड बढेको छ नि ?
देश बनाउन युवा जागरुक भएका छन्। बुद्धिजीवी र देशप्रति चिन्तित मानिसको संख्या बढेको छ। पुरानै दलमा रहेर पनि त्यहाँ भित्रको विकृति हटाउन सकिन्छ।यहाँ जनताभन्दा दल धेरै भइसके। त्यसैले जनता अन्योलमा छन्। अब नेतृत्वलाई विश्वास गर्ने हो दललाई होइन।
अबको तपाईंको लक्ष्य?
मलाई नेपालभर सबैले चिन्छन्।नाम कमाउन राजनीतिमा आएको होइन।पैसा कमाउनु पनि छैन।मेरो काममार्फत केही परिवर्तन होस् र युवामा जोस जाँगर जागोस् भनेर मैले यो क्षेत्र रोजेकी हुँ।राजनीति भनेको रिटायर्ड भएर आराम गर्ने ठाउँ होइन।म दलमार्फत देश र जनताका लागि काम गर्न चाहन्छु।
निर्णयक तहमा पुगेपछि नेपाली महिलाको लागि के गर्नुहुन्छ?
रेखा थापा बोलेको कुरा पुर्याउने मानिस हो भन्ने दर्शकलाई थाहा छ।म काममा विश्वास गर्ने मानिस भएकाले पहिले त्यहाँ पुग्न त दिनुस्।मैले एउटा योजना बनाइसकेकी छु, त्यहीअनुसार गर्नेछु।
0 comments
Write Down Your Responses