अब कसको मुख हेरेर बाँच्नु’
‘सञ्जन विहे गरेको दुई महिनापछि रोजगारीका लागि मलेसिया पुगेका थिए,’ छिमेकी सुशीलादेवी साहले भनिन्, ‘तर राम्रो काम नपाएपछि ६ महिनामै फर्किएका थिए ।’
सुशीला भन्छिन्, ‘दुनियादारीसँग खासै रुचि नराख्ने सञ्जन घर र पसलबाहेक व्यर्थ बरालिने मान्छे थिएनन् ।’ गम्भीर स्वाभावका थिए उनी । राजनितिसँगै खासै सरोकार नराख्ने उनी परिवार र आफ्नो व्यापार व्यवसायमै रमाउँथे । ‘त्यो दिन (सोमबार) घरमा खाजा खाएर पसलतर्फ जाँदै थिए,’ मेहता परिवारका एक सदस्यले नागरिकसँग भने, ‘घरबाट ५० मिटरजति पश्चिम मात्र के गएका थिए सुरक्षाकर्मीको गोलीले उनलाई भेटाइहाले छ ।’
परिवारका अनुसार एमाले कार्यक्रम सम्पन्न भएको खबर पाएपछि पसल खोल्न जाँदै थिए सञ्जन।
‘अब कसको मुख हेरर बाँच्ने ? कसरी बाँच्ने ? मेरो राजालाई ल्याइदेऊ’ भन्दै भक्कानिँदै छिनछिनमा मुर्छा पर्ने सवितालाई सम्हाल्दै आफन्त महिला आफैं पनि सम्हालिने प्रयासमा थिए । विपन्न मेहता परिवारको गुजारा गर्ने एक मात्र सहारा किराना र पान पसल हो । भाइको निधनको खबरले दाजु रञ्जनको अवस्था पनि नाजुक बनेको पिता लक्ष्मणले बताए।
पिताम्बरलाल मण्डलको पनि घरनजिक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। प्रत्यक्षदर्शी विजयकुमार यादव र पिताम्बर २० मिटरको फरक दुरीमा गफिँदै थिए। ‘त्यतिकैमा ड्याङ ड्याङ... आवाज सुनियो,’ विजयले नागरिकसँग भने, ‘गोली चल्यो गोली चल्यो भन्दै गाउँमा भागदौड मच्चियो । भागदौडकै क्रममा पिताम्बर आफ्ना दुई छोरा र दुई छोरीलाई घरतर्फ सोझ्याउँदै थिए त्यही क्रममा उनको कोखमा गोली लाग्यो उनी बाटो छेवैमा ढले।’
मण्डल राजनीतिक आस्था बोकेका व्यक्ति नभएको गाउँलेको दाबी छ। मण्डलका छिमेकी धनराज साह भन्छन्, ‘उहाँ (पिताम्बर) अरुको घरमा रङ लगाउने काम गर्नु हुन्थ्यौ।’
पिताम्बरका ५ जना सन्तान छन् । दुई छोरा र तीन छोरी। ‘ऋण तथा आफ्न्त र छिमेकीको सहयोगमा जसोतसो छोरीको बिहे गरियो’, श्रीमती सोमनीदेवीले भक्कानिँदै भनिन्, ‘दुई छोरा छन्, त्यो पनि बेरोजगार, मेरो संसार नै उजडियो।’पिताम्बरका बुबा ७५ वर्षीय गोसाइ मण्डल छोराको मृत्युले स्तब्ध छन्।


0 comments
Write Down Your Responses