Welcome to ...

एमाले र मोर्चा राजविराजमा आमने-सामने read
ची-महाकाली अभियान अन्तर्गत राजविराजमा सोमबारका लागि एमालेले तय गरेको कार्यक्रम भाड्न मधेसी मोर्चाले सप्तरी जिल्लामा चक्काजाम र प्रदर्शनका कार्यक्रम राखेको छ। सम्भावित मुठभेढलाई ध्यानमा राखि एमालेले राजविराजमा गर्ने भनिएको कार्यक्रम शहर बाहिर सारे पनि मोर्चाका कार्यकर्ता जसरी पनि एमालेलाई राजविराज वरिपरि कार्यक्रम गर्न नदिने भन्दै आइतबारदेखिनै प्रदर्शनमा उत्रिएका छन्। एमाले कार्यक्रम बिथोल्ने उदेश्यका साथ मोर्चाले राजबिराजमा सोमबार लाठी जुलुशको आयोजना गरेको छ। लाठी जुलुशका लागि कार्यकर्ता र आफ्ना समर्थकलाई राजविराजमा ल्याउन मोर्चाका नेताहरु गाँउगाँउमा परिचालित भएका छन्। एमालेले भने आफ्नो कार्यक्रमस्थल पहिले तोकिएको राजविराजस्थित राज रंगशालाबाट सारेर बजारभन्दा करिब तीन किलोमिटर उत्तर गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा तय गरेको छ। यो औंद्योगिक क्षेत्र राजविराज नगरपालिकासँगै जोडिएको मलेठ गाविसमा पर्छ। तर मोर्चाका कार्यकर्ताले त्यहाँ पनि अबरोध पुर्‍याउने जनाएका छन्। आइतबार पनि मोर्चाका केही कार्यकर्ताले औंद्योगिक क्षेत्रको गेट अघि धर्ना दिएका थिए। मोर्चाका सप्तरी संयोजक दिनेश यादवले सोमबार दिनभरिनै राजविराजमा प्रदर्शन गर्ने र एमालेलाई कसैगरी कार्यक्रम गर्न नदिने जनाए। ‘हामीले एक हप्ता अघिनै सोमबारको लागि सप्तरी जिल्लामा चक्काजाम राखेका छौं। सोमबार सप्तरीका प्रमुख स्थानमा बिहानदेखिनै लाठी जुलुश गर्छौ। जनता स्वत: स्फूर्त रूपमा सरदमुकाम आइरहेका छन्,’ यादवले भने, ‘हामी कुनै पनि हालतमा एमालेलाई यँहा कार्यक्रम गर्न दिन्नौं।’ सोमबार सप्तरीमा चक्काजाम आव्हान गर्नुका साथै मोर्चाले राजमार्गमा पर्ने सप्तरी जिल्लामा तीन प्रमुख शहर भारदह, कञ्चनपुर र रुपनीमा पनि प्रदर्शन राखेको छ। एमालेको मेची-महाकाली अभियान पूर्वबाट आउँदा पहिले भारदह आइपुग्छ। त्यपछि कञ्चनपुर हुँदै रुपनीबाट दक्षिण लाग्छ। उदयपुरहुँदै भारदहलाई छलेर एकैपटक कञ्चनपुर निस्कने बाटो पनि छ। ‘त्यही संभावनालाई ध्यानमा राखेर मोर्चाले कञ्चनपुरमा पनि प्रदर्शन र बिरोध कार्यक्रम राखेको हो’, यादवले भने। रूपनीबाट राजविराज १० किलोमिटर दक्षिणमा पर्छ भने औंद्योगीक क्षेत्र तीन किलोमिटरमा पर्छ। प्रहरीले राजविराजमा सुरक्षा ब्यवस्था कडा बनाएको छ। एमालेको कार्यालय तथा कार्यक्रम हुने औद्योगिक क्षेत्रलाई पनि प्रहरीले पहारा दिइरहेको छ। सेतोपाटीसँग कुरा गर्दै एमाले सप्तरी जिल्ला ईन्चार्ज सुमन प्याकुरेलले आफ्नो पार्टीलाई राजबिराजमा कार्यक्रम गर्न कसैले रोक्न नसक्ने दाबी गरे। उनले सप्तरी जिल्लामा कांग्रेस पछि एमालेनै ठूलो पार्टी भएको पनि स्मरण गराए। ‘राजविराजमा दुई चार जनाले मोटर साइकल चलाएर र्‍याली गरेजस्तो सजिलो हुन्न एमालेलाई रोक्न। हाम्रो जुलुश र आमसभामा यति मानिस आउँछन्, तिनलाई कसैले रोक्न सक्दैन,’ प्याकुरेलले भने। आफूहरूले मोर्चाका नेताहरूसँग पनि कुरा गरेको र उनीहरुले पनि एमालेको आमसभा बिथोल्ने कुनै मनसाय नरहेको जानाएको दाबी गरे। ‘हामीले प्रशासनको रोहबरमा मोर्चाका नेताहरूसँग कुरा गरेका छौं, हामी हाम्रो कार्यक्रम गर्छौ, तँपाईँहरू आफ्नो कार्यक्रम गर्नुहोस् भनेका छौ,’ प्याकुरेलले भने,‘मोर्चाले हाम्रो कार्यक्रममा कुनै बाधा नपुर्‍याउने विश्वास छ।’ एमालेले कसैसँग द्वन्द्व नचाहेको भन्दै प्याकुरेलले भने, ‘एमाले कसैलाई कुटेर हिड्ने पक्षमा छैन तर कसैबाट कुटाई खान पनि हामी तयार छैनौं।’ एमालेले राजविराजमा कार्यक्रम गर्न पाउँदैन भन्ने कसैलाई सनक चढेको भरमा आफूहरू पछि नहट्ने उनले दाबी गरे। सम्भावित मुठभेढ टार्न पहिले तोकिएको कार्यक्रमस्थल राज रंगशाला परिवर्तन गरिएको भन्ने समाचारमा पनि सत्यता नरहेको उनले जिकिर गरे। ‘तपाईँहरूको आमसभामा ठूलो मास आउँछ, धेरै गाडीहरू पनि आउँछन्, रंगशालामा अट्दैन भनेर प्रशासनले भनेको हामीले सारेका हौं’, प्याकुरेलले भने, ‘कसैसँग डराएर कार्यक्रमस्थल परिवर्तन गरेका हैनौं।’ कार्यक्रममा तलमाथि भए मोर्चाका नेताहरू र सरकार जिम्मेवार हुनुपर्ने पनि उनले बताए। ‘लोकतन्त्रमा शान्तिपूर्ण कार्यक्रम गर्न पाउने कुनै पनि राजनीतिक पार्टीको अधिकार हो। त्यो अधिकारको सवै राजनीतिक पार्टीले सम्मान गर्नुपर्छ र सरकारले रक्षा गर्नुपर्छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी रमेशकुमार भट्टराईले सप्तरीमा एमाले र मधेसी मोर्चाका कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बताए। आसपासका जिल्लाबाट थप प्रहरी बल मगाइएको पनि उनले बताए। ‘सुरक्षा पर्याप्त र मजबुत छ,’ डिआइजी भट्टराईले भने ‘मुलुकभर जो सुकैले जहाँ गएर पनि शान्तिपूर्ण रुपमा आफ्नो कार्यक्रम गर्न पाउँछ। कसैले अवरोध गर्न पाइउदैन।’ प्रहरीको काम सुरक्षा दिने भन्दै उनले भने,‘कसैले कसैलाई शान्तिपूर्ण काम गर्न रोक्छ भने प्रहरी टुलुटुलु हेरेर बस्दैन।’ उनले शान्तिपूर्ण रुपमा आफ्ना कार्यक्रम गर्न एमाले र मधेसी मोर्चाका नेता तथा कार्यकर्तासँग आग्रह गरे। ‘कसैले अशान्ति र जोर जवरजस्ती गर्छ भने हामी पक्राउ गरेर मुद्दा चलाउँछौ,’ उनले भने

0 comments

Write Down Your Responses