Welcome to ...

एमालेले थाल्यो मेची-काली अभियान reed mor
झापाः प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै झापाको काँकडभिट्टाबाट शनिबार ‘मेची-महाकाली राष्ट्रिय अभियान' सुरु गरेको छ । काँकडभिट्टामा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियान थालनी गरे । अभियानअन्तर्गत शनिबार झापाका काँकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा आयोजना गरिएको छ । तराईकेन्द्रित दलले आफ्ना मुद्दामा तगारो ठानेको एमालेको उक्त अभियानका सबै कार्यक्रम तराईमै केन्द्रित रहनेछन् । शनिबारबाट सुरु भएको मेची-महाकाली अभियान राष्ट्रिय एकता, संविधान कार्यान्वयन तथा चुनावको सुनिश्चितताका लागि भएको एमाले नेताहरूले बताएका छन् । अभियान सुरु गर्दै एमाले अध्यक्ष ओलीले संसद्मा सरकारले पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने यसअघिकै अडान दोहोर्‍याए । ‘सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक देशहितमा छैन । त्यो जनभावनाविपरीत छ । त्यसैले हामी त्यसलाई पारित हुन दिँदैनौं', उनले भने । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन दिन्नौं भन्नु संसदीय अभ्यास भएको उनले बताए । ‘संशोधन विधेयक पारित हुन नदिने विषय संसद्भित्रको हो । यो अलोकतान्त्रिक अभ्यास होइन', उनले भने । दमकमा आयोजित सभामा ओलीले सरकारले निर्वाचन गराउनेमा आफू विश्वस्त नरहेको बताए । दोधारे चरित्रका कारण आफूहरू ढुक्क हुन नसकेको उनको भनाइ थियो । अझै पनि सरकार निर्वाचन गर्ने कि संविधान संशोधन गर्ने भन्ने दोधारमा रहेको आरोप उनले लगाए । प्रधानमन्त्रीले एमालेसँग एउटा र मधेसी मोर्चासँग अर्कै कुरा गर्ने गरेका कारण निर्वाचन हुनेमा आफू ढुक्क नरहेको उनले बताए । ‘यो सरकारले हामीसँग एउटा कुरा गर्छ र मधेसी मोर्चासँग अर्कै कुरा गर्छ', उनले भने, ‘निर्वाचन हुन्छ भन्नेमा हामी आशावादी छैनौं ।' उनले सरकारले धर्मर गरे पनि एमालेले निर्वाचन गराएरै छाड्ने दाबी गरे

0 comments

Write Down Your Responses