विदेशबाट दुःख पाएर फर्किएकालाई खिसिट्युरी नगरौँ1
फेसबुक लगअन नै थियो। साउदी अरबका पासपोर्ट विभागका महानिर्देशक मेजर जनरल सुल्तानको अन्तर्वार्ताको अंश पढ्दै थिएँ, साउदी ग्याजेटमा।
उनले आवास तथा श्रम कानुनको उल्लंघन गर्ने विदेशी कामदार र त्यस्ता अवैध कामदार राख्ने साउदी नागरिक र कम्पनीलाई पनि कडा कारबाही गर्ने र शून्य सहनशीलता अपनाउने अन्तर्वार्तामा बताएका छन्।
त्यत्तिकैमा म्यासेज आएको सांकेतिक घन्टी बज्यो। हेरेँ, लेखिएको थियो- दाइ, म बिजोगमा परेँ। काम मिलाइदिनुस् न।
पहिलो म्यासेज पढिनसक्दै अर्को म्यासेज आयो- कम्पनीले घर पठाउने भयो। आएको भर्खर हो, ल न दाइ, प्लिज।
उनले लेखेका यी म्यासेजले मन चस्स गर्यो। मैले उनको बुबा युवराज प्याकुरेललाई सम्झिएँ। लामो समयसम्म सँगै काम गरेका थियौं। हिजोआज उहाँ बिरामी हुनुहुन्छ। प्यारालाइसिसले थलिनु भएको छ, भन्ने सुनेको थिएँ। भेट्न जाने मन हुँदाहुँदै पनि भेट्न सकिरहेको थिइनँ।
खै के मिल्दैन के! एक महिनाको बिदा त्यसै सकिन्छ। सबै साथीभाइ आए, मचाहिँ भेट्न गइनँ भन्ने मनमा लाग्दो हो। मलाई मनको बाघले खाइरहन्छ।
उहाँकै छोरा दीपक प्याकुरेलको म्यासेज थियो त्यो। फेसबुकमा कहिलेकहीँ गफ हुन्थ्यो। राम्रै छ दाइ भन्थ्यो। एक्कासि त्यस्तो म्यासेज पढ्दा नरमाइलो लाग्यो।
तर्कनाहरू मनमा खेलाउँदै सोधेँ- के भयो भाइ? किन कम्पनीले घर पठाउन लागेको?
‘कम्पनीमा लफडा भयो। सबैलाई घर पठाउने भयो,’ उनले उत्तर दिए, ‘म त कम्पनी छोडेर भागेँ।’
उनले जति सजिलोसँग उत्तर दिए, मसँग उसलाई दिने त्यति सजिलो उत्तर थिएन। भर्खर पढेको अन्तर्वार्ता सम्झिएँ। एकपछि अरु गर्दै धेरै प्रश्न जन्मिन थाले।
‘पासपोर्ट छ?’
‘छैन।’
थप जानकारी दिए- त्यही नभएको पासपोर्ट पनि हस्तलिखित थियो, तीन महिनापछि म्याद सकिने।
साउदी ग्याजेट मै खालिद अलमइनाको एउटा आलेखमा पढेको थिएँ। ‘आवास तथा श्रमको कानुनको उल्लंघन कसले गरेको छ?’ शीर्षकमा एउटा रोचक लेख लेखेका थिए, उनले।
उनले भनेका छन्- विदेशबाट कामदार झिकाएर काम र दाम केही पनि नदिने र कमिसन खाएर आफूले ल्याएको कामदार अरुलाई बेच्ने हाम्रा नागरिकले कानुनको उल्लंघन गरेका छन् कि? ती निर्दोष विदेशी नागरिक, जो जायजेथा बन्धकी राखेर काम गर्न यहाँ आएका छन्, के त्यस्ता विदेशी श्रमिकलाई अवैध भन्न मिल्छ? के उनीहरूले कानुन तोडेका हुन्?
उनको राय थियो- राम्ररी छानबिन गरिनुपर्छ। सबैलाई एउटै बास्केटमा हाल्नु हुँदैन। जुन श्रमिक हाम्रा नागरिकबाट ठगिएका छन्, उनीहरूको उदार गर्नुपर्छ। होइन भने अन्तर्राष्ट्रिय जगत्मा राम्रो म्यासेज जाँदैन।
यस्तै स्थिति पनि भएको हुन सक्थ्यो ती भाइको। जेसुकै कारण भए पनि कम्पनीले टिकट काटेर पठाउने भएपछि ती भाइ घर फर्किनु पर्थ्यो। तर, फर्किएनन्। उनी सबैकुरा छोडेर भागेछन्।
‘किन गलत निर्णय गर्यौ?’ मैले फेरि सोधेँ।
‘दाइ, तपाईंलाई थाहै छ, बुबा बिरामी हुनुहुन्छ। ऋण गरेर आएँ। तिरेको छैन। बुबाको उपचार गर्दागर्दै बिल्लीबाठ भइसकेँ। अब, रित्तो हात कसरी घर फर्कने? जेसुकै होस् दाइ मैले निर्णय गरिसकेँ। सक्नु हुन्छ भने हेल्प गरिदिनुस्।’
उनको म्यासेज पढेर गला अबरुद्ध भयो। आँखा रसाए। तर, भन्न सकिनँ- आऊ भाइ, म काम खोजिदिन्छु।
किनभने यो मेरो वशको कुरै थिएन।
भर्खरै साउदी अरबको श्रम मन्त्रालयले अवैध कामदार मात्रै होइन, त्यस्ता कामदारलाई काममा राख्ने नागरिक, कम्पनी या संघसंस्थालाई समेत जरिवाना र जेल दुवै सजाय हुने कानुन सार्वजनिक गरेपछि भागेर जाने कामदारले काम पाउन गाह्रो मात्रै होइन, अति जोखिम र असम्भव छ।
यस्तो स्थितिमा म यो साउदीअरबमा कार्यरत सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु - यहाँको स्थिति पहिलाको जस्तो छैन। वैदेशिक आवासीय श्रमिकहरूको कानुनमा ठूलो परिवर्तन गरिएको छ। ती साथीहरू, जसलाई अहिलेको परिवर्तित कानुनबारे जानकारी छैन। उहाँहरूले अनाहकमा दुःख पाउनु नपरोस्। कसैको गलत स्कुलिङको सिकार हुन नपरोस् भन्ने जानकारी नेपाली दाजुभाइबीच पुगोस्।
कहिलेकाहीँ दुस्साहस गर्ने मान्छेहरू सफल भएका कथा सुन्छौँ, हामी। ती अपवाद हुन्। नियम-कानुन मिचेर गरिने दूस्साहसका परिणाम फलदायी हुँदैनन्। यसो भनेर उहाँहरूको बाध्यता र विवशतालाई नजरअन्दाज गर्न खोजिएको भने होइन।
यो आलेख लेख्दै गर्दा एउटा बन्दकोठाभित्र बसेर मुनामदनको पुस्तकमाथि आँसु चुहाउनु र स्वयं मदन भएर खाडी मुलुकमा आँसु चुहाउनुको फरक मैले बुझेको छु र भोगेको छु। मेरो आग्रह के मात्रै हो भने, एउटा सानो दुस्साहसको कारणले मुनामदनको कथा नदोहोर्याउँ। किनभने यस्ता कथाले धेरैको मन दुखाउँछ। धेरैलाई रुवाउँछ।
हो, बिदेसिने दाजुभाइ तथा दिदीबहिनीहरूको आ–आफ्नै काथा र ब्यथाहरू छन, आ–आफ्नै दसाहरू छन। र, उहाँहरूले चाल्ने यस्ता दुस्साहसपूर्ण जोखिम कदमको पछाडि तीनै कथा, ब्यथा र मनोदसाहरूले निर्णयक भूमिका खेलेको हुन्छ। होइनभने त्यस्तो जोखिम जो कोहीले किन मोल्छ र?
तर, हाम्रा पीडाहरू, बाध्यता र विवशता जस्तासुकै भए पनि कानुनले हाम्रो मर्म बुझ्दैन। त्यो निर्जीव हुन्छ। र, त्यसले ल्याउने परिणाम भयावह हुनसक्छ। त्यसैले गलत निर्णय नगरौं भन्ने आग्रहमात्रै हो।
यसको साथसाथै नेपालमा हुनुभएका परिवारजनलाई आग्रह - कोही विदेशबाट दुःख पाएर आफ्नो ज्यान बचाएर फर्किएको छ भने उसलाई खिसिट्युरी नगरौँ। उसलाई माया गरौँ। प्रेरणा दिऔँ ता कि समाजको घरपरिवारको डरले उसले गलत निर्णय नगरोस्। जसरी ती दिपक भाइले गरेका छन्।
५/६ वर्षपहिला साउदी अरवमा यस्ता घटना प्रशस्त हुन्थे। त्यसरी भागेर अवैधानिक रूपमा काम गर्ने मान्छे धेरै थिए। र, आफूलाई मन लागुन्जेल काम गर्थे। घर जाने बेलामा आफुखुसी प्रहरीलाई पक्राउ दिनुपर्थ्यो। प्रहरीले १/२ महिना जेल हाल्थ्यो र घर पठाइदिन्थ्यो। तर अति भएपछि खति हुन्छ भनेजस्तो कम्पनी छोडेर भाग्ने मान्छेहरूको संख्या ह्वात्तै बढ्यो।
यस्ता क्रियाकलापले श्रमिकहरूको किनबेच र लुछातानी बढ्न थाल्यो। यहाँका नागरिकले घरायसी कामकाजका लागि भनेर श्रमिक ल्याउने र ल्याइसकेपछि अरु कसैलाई बेच्ने अथवा भाडामा लगाउनेसम्मका घटना हुनथाले।
श्रमबजारमा एकखालको अराकताको स्थिति सृजना भयो। जेलहरू भगौडा श्रमिकले भरिन थाले। मुख्य कुरो अवैधानिक रूपमा काम गर्ने सस्ता श्रमिकहरूको कारणले गर्दा स्वदेशका दक्ष तथा अदक्ष बेरोजगार युवाको संख्या पनि ह्वात्तै बढ्यो।
प्रारम्भिक अध्ययनले कस्तो नतिजा बाहिर ल्यायो भने यहाँका नर्सिङ कलेजहरूबाट साउदीका सबै सरकारी तथा प्राइभेट अस्पताललाई पुग्ने नर्सहरू उत्पादन भइसकेको रहेछ। तर, धेरै अस्पताल खासगरी निजीमा स्थानीय नर्सहरूको संख्या सारै न्यून देखा पर्यो। एकाउन्ट, मार्केटिङ, व्यवस्थापनको क्षेत्रमा पनि उही स्थिति भेटियो।
घरायसी कामका लागि भनेर विदेशी श्रमिक ल्योउनेहरूको घरघरमा गएर बुझ्दा ती श्रमिक अन्यत्रै काम गरेको पाइयो। त्यसबापत स्पोन्सरहरूले मासिक केही रकम लिने गरेको पनि भेटियो।
यो डरलाग्दो तथ्यांक बाहिर आएपछि गत जुन २०११ मा साउदी अरबको श्रम मन्त्रालयले निताकात कानुन सार्वजनिक गर्यो। जसको मुख्य उद्देश्य थियो- आफ्ना नागरिकलाई निजी क्षेत्रप्रति आकर्षित गर्नु र अत्याधिक रोजगारको सिर्जना गर्नु।
पहिलो र प्राथमिक काममा पर्यो अवैधानिक रूपमा काम गरिरहेका विदेशी कामदारलाई घर फर्काउनु। अवैधानिक कामदार भन्नाले त्यस्ता कामदार पर्थे, जो भागेर काम गरिरहेका थिए। अथवा जुन कम्पनीमा काम गर्न भनेर आए त्यो कम्पनीले भने जति तलबभत्ता र सुविधा नदिएका कारणले उक्त कम्पनी छोडेर भाग्ने र अन्य कम्पनीमा गएर लुकिछिपि काम गर्ने कामदार पर्दथे। त्यसरी भाग्दा उनीहरूले आफ्नो पासपोर्ट पनि पुरानै स्पोन्सरकहाँ छाडेर भाग्नु पर्ने हुन्थ्यो।
निताकात कानुन अनुसार साउदी अरबको श्रम मन्त्रालयले जो कामदार स्पोन्सर परिवर्तन गर्न इच्छुक छ उसले परिवर्तन गर्न पाउने, जो इच्छुक छैन घर फर्किनु पर्ने भयो। तर, दोश्रो स्पोन्सर परिवर्तन गरेर काम गर्न नपाउने र श्रमिकहरू भाडामा लगाउन पनि नपाउने कानुनी व्यवस्था गर्यो। त्यसका लागि ७ महिनाको समय दिइएको थियो।
अहिले साउदी सरकार, शून्य सहनशीलताका साथ त्यही कानुन अविलम्ब कार्यान्वयन गर्ने अभियानमा छ। किनभने अझै पनि जानेर, नजानेर, अटेर गरेर अथवा दीपक भाइको जस्तै बाध्यतामा परेर त्यस्तो निर्णय गर्ने विदेशी श्रमिकहरू अझै पनि देखिँदैछन्।
सरकार कडा कारबाही गर्ने पक्षमा छ। जसअन्तर्गत श्रमिकको हकमा ६ महिना जेलदेखि २० हजार रियालसम्म जरिवाना बझाउनु पर्छ। र, त्यस्ता कामदार राख्नेहरूको हकमा पहिलोपटक ५ हजार जरिवाना र एक महिना जेल। पटकेको हकमा दोब्बर हुँदैजाने भन्ने छ।
यसले के संकेत गर्छ?
यसले हामीलाई आवासमा समस्या ल्याउँछ किनभने आवासीय अनुपतिपत्रबिना हामीले बास बस्ने ठाउँसमेत पाउन्नौँ। काम त परेको कुरा हो। पहिला साउदी नागरिकहरूलाई कानुनले नछुने भएकाले तपाईं- हामीले मात्रै जोखिम मोल्दा हुन्थ्यो। लुकिछिपि बस्न र काम गर्न सकिन्थ्यो।
तर, अब स्थिति त्यस्तो छैन। उनीहरू पनि कानुनी दायरामा पर्ने भएकाले अब आवास र काम दुबै पाउन जोखिमपूर्ण छ। त्यसैले कृपया त्यस्तो जोखिम नमोल्नु होला। किनभने त्यसको परिणाम अझ बढी दुःखदायी हुनसक्छ।
अन्तमा ती दीपक भाइले मेरो अनुरोध मानेनन्। आशा गर्छु उनले काम पाऊन्। राम्रो होस। ऋणबाट मुक्त हुन सफल होऊन्। मेरो सदिच्छा छ। त्यस्तो बेला सहयोगको हात बढाउन सकिनँ दुःख लागेको छ।
प्रकाशित मिति: शनिबार, फाल्गुण ३०, २०७१ १३:४३:३९
0 comments
Write Down Your Responses