अमेरिकामा नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी
न्यूयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी भएको छ।
दक्षिण-पूर्वी राज्यमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन इन साउथ इष्ट अमेरिका (नासा)को अग्रसरतामा उक्त सहायता केन्द्र खोल्ने तयारी भइरहेको नासाका महासचिव शिव विष्टले जानकारी दिए। उक्त संस्थाद्वारा गरिएको कन्फ्रेन्स कलमा ५० जना बढीको सहभागिता थियो।
राष्ट्रपतिको पछिल्लो आदेश कार्यान्वयन गर्ने क्रममा नेपालीहरु पीडित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सूचना तथा परामर्श सहायता केन्द्र खोल्न उक्त कन्फ्रेन्समा सहभागीहरुले सुझाव दिएका थिए।
नासाको आमन्त्रणमा अमेरिकामा कानुन व्यवसाय गर्दै आएका खगेन्द्र जिसीले कानुनी सम्भावना र चुनौती बारेप्रष्ट्याउँदै कागजातविहीन नेपालीहरुले सजगता अपनाउनुपर्ने बेला आएको बताए।
नासाको नेपाल फोरमका संयोजक गजेन्द्र अर्यालको संयोजनमा भएको कार्यक्रममा अमेरिकाका नौ वटा राज्यमा बस्ने नेपाली सहभागीहरुले आगामी दिनमा हुनसक्ने चुनौतीका लागि आ-आफ्नो क्षेत्रमा जानकारी गराउने निष्कर्ष निकालिएको थियो।
पत्रकार तरुण पौडेलले आप्रवासी नेपालीका हेल्प लाइनजस्तो परामर्श केन्द्र स्थापनाका लागि संयन्त्र निर्माण गर्न सुझाव दिएका थिए। सोही सुझावलाई संयोजन गर्दै सूचना परामर्श केन्द्र खोल्न लागिएको बताइएको छ। अमेरिकामा रहेका विभिन्न संघ संस्थासंग समन्वय गरेर छिट्टै सो केन्द्रको स्थापनाको गरिने नासाका अध्यक्ष विमल नेपालले बताए।
कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रविना थापालगायत सहभागीले पनि यस्ताखाले सूचना केन्द्रले ठूलो सहयोग पुर्याउने बताइन्।
अमेरिकाका ६ वटा राज्यमा छापा मार्दै कागजपत्रविहीन आप्रवासीहरुलाई पक्राउ गरिएको छ। बिहीबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले कम्तीमा ६ वटा राज्यमा छापा मारेर कैयन आप्रवासीलाई पक्राउ गरेको अधिकारवादीलाई उद्दृत गर्दै वासिंटन पोष्टले जनाएको छ।


0 comments
Write Down Your Responses