इन्भेष्टमेन्टबाट हराएको झण्डै २३ लाख चोरीमा बैंक कर्मचारीकै संलग्नता
२ फागुन, धनगढी । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएको छ ।
रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएको थियो ।
पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरे । उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिए । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए ।
बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।
२०७३ फागुन २ गते १६:४३ मा प्रकाशित
0 comments
Write Down Your Responses