समाचार
»
पेस्तोल देखाएर साढे चार लाख लुटियो
पेस्तोल देखाएर साढे चार लाख लुटियो
धरान: धरानमा सोमबार दिनदहाडै पेस्तोल देखाएर साढे चार लाख रुपैयाँ लुटिएको छ । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा आएका दुईजना लुटेराले धरान-१५ स्थित बूढासुब्बा चोकमा सञ्चालनमा रहेको सेवा रेमिट्यान्सबाट साढे चार लाख रुपैयाँ लुटेर लगेका छन्।
मध्यान्ह करिब १२ बजे नीलो पल्सर मोटरसाइकलमा आएका दुईजना लुटेराले पेस्तोल देखाएर रेमिट्यान्समा भएको चार लाख ५० हजार रुपैयाँ लुटेर लगेको सञ्चालक जोर्डन देवानले बताए । मोटरसाइकलमा हेल्मेटसहित मास्क लगाएका लुटेराले रेमिट्यान्सभित्र पसी पेस्तोल देखाएर पैसा झिक्न लगाएको देवानले बताए । ‘सुरमा ग्राहक ठानेर सोधपुछ गर्दागर्दै लुटेराले पेस्तोल निधारमा ताकेपछि होस उड्यो’, देवानले भने, पेस्तोल ताकेपछि लुटेराले सीधा नजरले अनुहारतिर हेर्नै दिएन । पैसा लुटेपछि लुटेराले आफूलाई भुइँमा सुत्न लगाएर भागेको देवानले बताए ।
लुटेराले पेस्तोल लुकाएको सेतो कपडा रेमिट्यान्समै छोडेको छ । घटनालगत्तै साथीलाई फोन गरेर जानकारी दिएको र प्रहरीलाई पनि खबर गरेको सञ्चालक देवानले जानकारी दिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले चेक प्वान्ट थापेर मोटरसाइकलमा सवारहरूको जाँचमा कडाइ गरेको भए पनि लुटेराको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए ।
उनले प्रारम्भिक अनुसन्धानबाट लुटमा पेसेबर लुटेरा समूहको हात रहेको निष्कर्षमा पुगेको बताए । लुटेराले यसअघि सुनसरीको इटहरीमा समेत रेमिट्यान्स कार्यालय लुटेको थियो । त्यहाँ पनि लुटेराले नीलो पल्सर मोटरसाइकल प्रयोग गरेका थिए ।
0 comments
Write Down Your Responses