Welcome to ...

प्रधानमन्त्री ज्यू! खाडीमा पुगेका तपाइका पूर्व लडाकुहरुको हालत यस्तो छ
२२ बर्ष अगाडी सत्ता बन्दुक को नालबाट जन्मिन्छ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उस्ले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याटस् लेख्यो 'महान जनयुद्द जिन्दाबाद! बिर सहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दाबाद!' टुईटरमा पोष्ट गरिएका टुईटमा आँखा रोकिए। मानौ ती शब्दहरु भित्र कहिँ न कतै म पनि जोडिएको छु। त्यसैले एकपटक पढेर मात्र चित्त बुझेन। अनि फेरि दोहोर्‍याए पढे 'महान जनयुद्ध जिन्दावाद! वीर शहिद अमर रहुन् ! प्रचण्ड पथ जिन्दावाद।' कोठामा चलिरहेको चिसो संगै मस्त निद्रामा सुतिरहेका रेमिट्यान्स लाहुरेहरुको निद्रा भङ्ग नहुने गरि मनमनै पढे। अनि मनमनै सम्झिए त्यो बेलामा प्रचण्ड पथको बाटोमा आफ्नो जीवनको अमुल्य समय नास गर्दै हिडेका मेरा एकजना दाइलाई। जो आज प्रचण्ड पथको बाटो हिड्दै हिड्दै दुबईको फराकिलो सडकमा आफ्नो एक थान ज्यानलाई अवतरण गराएका छन्। हप्ताको छ दिन सम्म आफ्नो ज्यानलाई मेसिनको रफ्तार संगै चलाएर थकित भएका मेरो दाईले बिहिवारको हरेक साँझ त्यो थकित ज्यानको दुखाई कम्ती गर्न आफ्नो कोठामा मलाई बोलाउने गर्छन्। अनि रोयल स्टेगले भरिएको गिलास ठोक्याएर चियर्स भन्दै मनको अनि ज्यानको दुखाई कम गर्ने कोशिस गर्छन्। दाईले रक्सी पिउदै गर्दा यस्तो लाग्छ कि उनले रक्सी हैन, कुनै औषधीको झोल पिईरहेका छन्।मनको पीडा कम गर्ने औषधी। त्यसैले होला बेलाबेलामा उनले भन्ने गर्छन् 'यो रक्सी बनाउने मान्छेले पनि धेरै सोच-बिचार गरेर बनाएको रैछ यार। नत्र म यसरी पीडा बोकेर कसरी बाँच्न सक्थे होला र।' 'मेसिन चलाउन सजिलो कि मेसिनगन चलाउन दाइ?' 'हैट! चलाउन त मेसिनगन नै सजिलो नि यार भाई। तर के गर्नु, त्यै मेसिनगन चलाएर देशमा केही परिवर्तन हुन्छ कि भनेर कलम फालेर मेसिनगन समातियो, लास्टा ज्यानले आज दुबईमा पन्जा बनाउने मेसिन चलाउनु पर्या छ। थुक्क जिन्दगी।' थालमा नुन छर्केर राखेको मुलाको चानालाई हातमा समाउदै दाईले आफ्नो जिन्दगीलाई थुक्यो। थाहा छैन मेरो दाइले जस्तै कतिजना पुर्ब लडाकुहरुले जिन्दगीलाई थुकिरहेका छन्। एकजना रोल्पाका मित्र छन्। यतै दुबई आएर चीनजान भएको। केही समय पहिले प्रधानमन्त्री प्रचण्ड युएई भ्रमण आएको बेला आबुधाबी स्थित नेपाली दूतावासमा उन्ले प्रचण्डलाई आफुले घाटिमा भिरेको क्यामेरा देखाउदै भनेका थिए 'कम्रेड म तपाईको पार्टीको पुर्ब लडाकु। हिजो हजुर संगै जनयुद्धमा हिडेको 'म' आज अरबमा एक्लै हिडिरहेको छु सपनाहरु तुहाउदै। अहिले मसंग सम्पत्तिको नाममा यै यौटा क्यामेरा छ कम्रेड। मलाइ जवाफ दिनुस् अझै कति बर्ष सम्म 'म'बिदेशमा यस्तो अबस्थामा बसिरहनु पर्ने हो?' उनले प्रधानमन्त्री समक्ष पोखेका ति पीडाका शब्दले प्रधानमन्त्री प्रचण्डको मनलाई छोयो या छोएन त्यो उनैले जानुन्। तर यौटा कुनामा उभिएर बोलिरहेका उनको त्यो मनभित्रको पीडा मिसिएको आवाजले मेरो मनलाई भने चसक्क घोच्यो। फाटेको लुगा सिउँदा हातको औंलामा सियोले च्वाँस्स घोचे जसरी। २२ बर्ष पूरा भयो, तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीस कोट, सिन्धुलीको सिन्धुलीगढी अनि गोरखाको प्रहरी चौकी आक्रमण गरेर जनयुद्ध घोषणा गरेको। दश बर्षसम्म चलेको त्यो कहाली लाग्दा दिनहरुको अन्त्य गर्न बिस्तृत शान्ति सम्झौतामा गरेको पनि यतिका बर्ष बितिसक्यो। यो बिचमा दर्जनौंपटक सत्ता परिवर्तन भए, नयाँ अनि पुराना अनुहारहरुले पटकपटक राज्यको बागडोर सम्हालेर बसे। जो आए, जति आए,अनि जसरी आए, बस् आफ्नै झोली भर्नकै लागी आए। देश सधैं रित्तो रित्तो। जनयुद्धको घोडा चढेर भारतको दिल्लीमा बिस्तृत शान्ति सम्झौता गरेपश्चचात प्रचन्ड अनि बाबुराम प्रधानमन्त्री/मन्त्री त बन्न सफल भए। तर हिजो जनतालाई जुन सपनाको गुलियो लड्डु देखाएर नेपालको बिकास र समृद्धिको कुरा गर्थे, ठुला भाषण दिन्थे, आज ती केवल खोक्रो भाषण मात्रै रहेछन् भन्ने कुरा स्वयंम उनीहरुको चरीत्रले नै प्रमाणित गर्दै गैरहेको छ। हिजो युद्धकालमा गाउँका घरहरुका भित्ता भित्तामा 'भारतिय बिस्तारवाद मुर्दाबाद' का ठुल्ठुला अक्षर कोर्नेहरु आज तिनै बिस्तारबादी भनिएकाहरुको आदेश बिना अगाडि पाईला बढाउनै नसक्ने भएका छन्। समय पनि कस्तो कस्तो आइपुग्ने र छ। जनयुद्ध लडेको रोल्पा भन्दा प्यारो आज लैनचौर बनेको छ। नबनोस् पनि कसरी। सत्ताको कुर्सी उसैको हातमा जो छ। हिजो रोल्पामा बसेर भारत विरुद्ध सुरुङ युद्धको हुँकार दिनेहरु आज त्यै भारतले रोल्पाका गाउँहरुमा बच्चाहरु पढ्ने स्कुल बनाईरहदा कहाँ अनि कुन सुरुङको खाल्डोबाट टुलुटुलु हेरिरहेका छन्? सोध्न अनि खोज्न मन लागेको छ। दश बर्ष सम्म तिनै रोल्पाली जनतालाई ढाल बनाएर युद्ध लडेकाहरु आज कस्को ढाल बनेर देशलाई हानिरहेका छन् भन्नेकुरा घाँम जत्तिकै छर्लङ्ग हुदै गएको छैन र? न भोक, न प्यास भनी काधँमा बन्दुक अनि कम्मरमा गोलि गठ्ठा बोकेर परिवर्तनको खातिर आफ्नो ज्यानलाई हत्केलामा राखी युद्ध लडेकाहरु मध्यका केही आज अरबका अग्ला अग्ला भवनका सिसा सफा गर्दैछन्, भने कोहि सुरक्षा गार्डको बर्दी लगाएर उभिएका छन्। बचेका कती नेपालमा कष्टको जीवन बाँचिरहेका छन्। युद्धको बेला जङ्गलमै जन्मिएका आफ्ना सन्तानलाई काखमा च्यापेर गाउँबाट काठमाडौ पुगि आफ्नै पार्टीको कार्यालय घेराउ गर्छन् बिचराहरु। आफ्नो समस्या समाधान गरिदिन भन्दै मलिन अनुहार मा धर्ना बस्छन्। तर आज आफ्नै पार्टीका अध्यक्ष दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा बसिरहदा उल्टो प्रहरी लगाएर ती बिचराहरुलाई भ्यानमा कोचेर जेल पुर्याउछन्। के यहीँ दिन देख्नको लागि भनेर प्रचन्ड पथको बाटोमा आफ्न जवानी खेर फालेका थिए उनीहरुले? जवाफ कस्ले दिने हो? नयाँ बोत्तलमा पुरानो रक्सी हालेर जनता झुक्याउदै गरेका नयाँ शक्तिका अध्यक्ष ज्युले या अस्ति खुल्ला मञ्चमा रातो झण्डा सहित हजारौं मान्छे उतारेर भाषण दिईरहेका बिप्लब ज्युले? या 'गरिब जनताको मुक्तिका लागि युद्ध गरेको हुँ भनेर कहिल्यै नथाक्ने बर्तमान महामहिम प्रधानमन्त्री ज्युले?' त्यै रोल्पाले जन्मायो सभामुख ओनसरी घर्ती। त्यै रोल्पाले नै जन्माएको हो बर्षमान पुन अनि कृष्ण बहादुर महरालाई। तर आज कहाँ छ रोल्पा? कुन अबस्थामा आफ्नो प्राण थेगीरहेका छन् रोल्पाली जनताले? कहिँले महसुस गर्ने समय मिल्यो रोल्पाबाट काठमाडौ झरी सुटबुट लगाउदै हिडेका महान रोल्पाली क्रान्तिकारी नेता ज्युहरुलाई? दस बर्षसम्म हज्जारौंको रगतको होली खेलेकाहरु आज सत्ता र कुर्सीको लुछाचुडीमै रमिता देखाउदै दुनियाँ हसाईरहेका छन्। हिजो संगसंगै युद्द लडेकाहरु आज पदिय भागबण्डा नमिलेर टुक्राटुक्रा बनी अलग अलग ठाउँमा जनयुद्ध दिवस मनाउदै रमिता देखाईरहेका छन्। बिचरा हिजो कलम र किताब छोडी बन्दुक समायर मुक्तिको लागी भन्दै हिडेका निर्दोष नेपाल आमाका सन्तानहरु आज बिदेशी भुमीबाट तिनै कथित मुक्तिदाता चटकेहरुको नाङ्गो नाच हेर्दै आफ्नो जीवनलाई धिक्कार्दै बसिरहेका छन्। आफ्नो जीवनको अमुल्य समय नास् गर्दै त्यै परिवर्तन र गरिबीको मुक्तिको आसै आसमा हिजो हाम्रा बाबू बाजेले आफ्नो जीवन खेर फाले। आज हामीहरुपनि यिनले देखाएको त्यै कतिथ परिवर्तनको आसै आसमा आफ्नो जीवनलाई अभाव र गरिविमा छट्पटाउदै नास् गरिरहेका छौं। यदि यस्तै अबस्था हो भने भोली हाम्रा सन्तानले पनि यस्तै अन्योलमा आफ्नो जीवनलाई नाश गर्नुपर्ने दिन आउनेछ। जीवनको पचास दशक क्रान्ति क्रान्ति भन्दै बित्यो, अनि बित्यो साठीको दशक त्यो एक थान संविधान लेख्नकै लागी। सत्तरीको दशक संघीय प्रदेशको सिमाङ्कन नाम र राजधानी छनौटको हुलदङ्गामै बित्नेछ। बाँकी समय प्रदेशका दल सरकार, तिनका कार्यकर्ताहरु पालन पोषण गर्दैमा बित्ने छ। यस्तै देश मुलुकको कथित परिवर्तन्। प्रकाशित मिति: बुधबार, फाल्गुण ४, २०७३ १०:२९:२०
,

0 comments

Write Down Your Responses