Welcome to ...

अपांगताले रोकेन विवाहलाई1
इटहरीः एकजना दिदीपछिको घरको जेठोबाठो भएकाले इटहरी ७ का उजुरु सरदार सानैदेखि मजदुरी गर्थे । अरु दुई भाइ र चारजना बहिनीको जिम्मेवारी पनि बुबापछि उनैको काँधमा थियो । त्यसैले स्कुल पढ्दै गर्दा, केही समय निकालेर काम गर्थे र घर खर्चका लागि बुबालाई सघाउँथे । एसएलसीपछि उनले स्कुल छाडे, तर काम छाडेनन् । एक दिन अचानक उनी दुर्घटनामा परे । एउटा घरमा लेबरको काम गर्दै थिए, उनी लडे । उनको ढाडमा चोट लाग्यो । तत्काल उपचार गर्न धरानस्थित बीपी प्रतिष्ठान पुर्‍याइयो । अस्पतालले मेरुदण्डको नसा च्यापियो भन्यो । ‘त्यहाँ ६० हजार रुपैयाँ लाग्छ भन्यो’, उनले भने, ‘घरको जेठोबाठो मै थिएँ, त्यति पैसा जुटाउन सकिनँ ।’ त्यसपछि उनी घरमै बसे । उनको खुट्टा नचल्ने भयो । दुई वर्षपछि सिलगढी गए । ‘त्यहाँ अस्पतालले ६० हजार भारु लाग्छ भन्यो’, उनले भने, ‘अलिअलि लिएर गएको पैसा पनि बस्न, खान र पुर्जा काट्नै सकियो, त्यत्तिकै फर्किएँ ।’ पैसा अभाव र घरमा गतिलो आम्दानीको स्रोत नभएपछि आफन्तैले नै पत्याउँदैनन् । उनलाई पनि त्यस्तै भयो । ‘त्यतिबेला सहयोग गरेको भए निको भइहाल्थ्यो होला’, उनले भने । १२ वर्ष भयो, उनको ढाडको नसा च्यापिएको । अहिलेसम्म उनको खुट्टा चल्दैन । एउटा संस्थाको सहयोगमा पाएको ह्विलचेयरमा बसेर हिँडडुल गर्छन् । ‘अहिले अस्पतालले दुई लाख रुपैयाँमा निको हुन्छ भनेको छ’, उनी भन्छन्, ‘उपचार गर्न सकिन्छ कि जस्तो हुन्छ । फेरि पहिलाको जति पैसाले पुग्दैन ।’ खुट्टा नचलेकैले उनले कमाउन सकिरहेका छैनन् । उनका दुवै भाइ कमाउन कतार पुगेका छन् । उनीहरूले पठाएको केही पैसा र बुबाले एउटा राइस मिलमा काम गरेर कमाएको पैसाले घरखर्च जसोतसो चलेको छ । ‘भाइहरूको पनि बिहे भयो भने उनीहरूले पनि दिन छाड्छन्’, सरदारले भने । उनका भाइ पनि अब कमाउने भएका छन् । तर भाइको कमाइले पनि सबै उपचार खर्च बेहोर्न सक्छ भन्ने आँट उनमा छैन । नपुगेको पैसा पनि ऋण नै खोज्नुपर्ने र त्यसका लागि चर्को ब्याज तिर्नुपर्ने सम्झँदै उनको बाँच्ने आस मर्छ । निको कहिले हुने र कमाएर कहिले ऋण तिर्ने ? ‘बेचेर तिरौं भन्दा जग्गा पनि छैन’, उनी भन्छन्, ‘भएको सानो घर र बसेको जमिन पनि गयो भने कहाँ जाने ? अहिले उनी दिनभर घरमै बस्छन् । कम्मरभन्दा माथिको भाग पूरै चल्छ, तर कम्मरमुनि चल्दैन । घरमा एकान्तको साथी उनकी श्रीमती छिन् । किशोरावस्थाका १२ वर्ष सरदारले ओछ्यानमा निराशापूर्ण जीवन बिताइरहँदा उनका लागि पाँच वर्षअघि उनकी प्रेमिका श्रीमती बनेर उनको जीवनमा खुसी बनेर आइन् । राधादेवीलाई उनले शारीरिक अपांगताको अवस्थामै भगाएर विवाह गरे । ‘यस्तो अपांग भएको मान्छेलाई मागेर सजिलै कसले छोरी दिन्छ र ? ’, सरदारले भने । ९ कक्षामा पढ्दै गर्दा राधादेवीसँग उनको प्रेम बसेको थियो । उनी पढ्ने भासी उच्चमाविछेवैमा घर भएकी राधादेवीसँग उनको चिनजान भयो । उनी भने पढ्दिनथिन् । सरदारकी दिदीको विवाह पनि त्यतै वरिपरि दिइएकाले दुवैको भेट्ने बहाना बन्थ्यो । सरदार बिरामी भएर थलिएपछि उनीहरूबीच सम्पर्क टुटेको थियो । तर झन्डै सात वर्षपछि एक दिन अचानक सरदारलाई फोन आयो । ‘दसैंको बेलामा फोन आयो, रिसिभ गरेँ, राधादेवीको रहेछ । फोनमा हालखबर सोधासोध भयो’, उनले भने, ‘त्यही वर्षको चैतमा दुवै भाग्यौं । ‘म यस्तो छु, कमाउन सक्दिनँ, नआऊ भन्दा पनि माननिन् ।’ सरदार र राधादेवी भागेर उदयपुरमा आफन्तको घर पुगे । केही दिन त्यतै बसेपछि उनीहरू घर फर्के । सरदारको घरमा दुवैको संस्कारअनुसार विवाह भयो । तर राधादेवीको परिवारले सरदारलाई अझै स्वीकारेको छैन । ‘मागेर बिहे हुने त सम्भवै थिएन,’ सरदार भन्छन्, ‘हामीले भागेरै बिहे गर्‍यौं, अहिले चार वर्षको छोरासमेत छ ।’ उनले यसो भनिरहँदा राधादेवी छेउमा बसेर मुसुमुसु हाँसिरहेकी थिइन् ।

0 comments

Write Down Your Responses