Welcome to ...

एमालेलाई मधेसी मोर्चाको जवाफ, मोर्चाको कारण होइन, ओलीको कारण एमालेले दु:ख पायो read
२३ फागुन, काठमाडौं । मधेसी मोर्चाले एमालेले सुरु गरेको मेची–महाकाली अभियानमाथि अवरोध गर्ने कुनै पनि घोषित कार्यक्रम नभएको बताएको छ । लोकतन्त्रमा कुनै पनि राजनीतिक दलहरुले कार्यक्रम गर्न पाउने स्वतन्त्रता भएको बताउदै एमालेको अभियानमा मोर्चाले कुनै पनि अवरोध नपुर्याएको बताएको हो । मधेसी मोर्चाका एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एमालेको कार्यक्रम विथोल्न कुनै पनि कार्यक्रम नभएको बताएका छन् । उनले नेपालीहेडलाइन्ससँग भने,‘लोकतन्त्रमा सबै राजनीतिक दलहरुलाई कार्यक्रम गर्ने अधिकार छ, अभियानमा विथोल्न खोज्नु लोकतन्त्रको मुल्य मान्यता विपरीत छ ।’ एमालेले फागुन २१ गतेबाट मेची–महाकाली अभियान सुरु गरे लगत्तै मधेसी मोर्चाले फागुन २८ गतेसम्मको लागि भण्डाफोर कार्यक्रमको घोषणा गरेको थियो । सरकारले संविधान संशोधन विधेयक संसदमा अगाडि बढाए पनि एमालेले विधेयक पारित गर्न नदिने अडान लिदै आएको छ । एमालेको अडानको कारण सरकार र मधेसी मोर्चा दुवै अन्यौलमा परेका छन् । अध्यक्ष यादवले भने, ‘मोर्चाले भण्डाफोर कार्यक्रमको घोषणा गरेको बेला पुनः मधेस जानु निहुँ खोजेकोजस्तो देखिन्छ, एमालेलाई मोर्चाले होइन ओलीको बोलीको कारण मधेसी जनताले विरोध गरेका हुन । एमाले अध्यक्ष ओलीले कहिले विहारी भन्ने त कहिले माखे साङ्लो भनेर होच्याउने अभिव्यक्तिको कारण मेधसी जनताको भावनामाथि चोट पुगेको छ’, यादवले भने । ‘ओलीले एमालेको संख्या धेरै छ भनेर अभिव्यक्ति दिइरहेका छन्’, अध्यक्ष यादवले भने, ‘मधेसी मोर्चाको सिट नै थोरै छ एमालेकै कार्यकर्ताले विरोध गरेका हुन ।’ मधेसमा मधेसी मोर्चामा आबद्ध नभई कांग्रेस एमाले र माओवादीमा पनि जनता रहेको बताउदै उनले भने, ‘अहिले एमालेप्रति ठूलो आक्रोश भनेको ओलीको बोली नै हो, अन्य कुनै कारण छैन।’

0 comments

Write Down Your Responses