समाचार
»
कसले लगायो त्रिवि रेक्टरको गाडीमा आगो ?
कसले लगायो त्रिवि रेक्टरको गाडीमा आगो ?
पेट्रोल छर्केर जलाइएको शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको गाडी। तस्बिर: शम्भु कट्टेल
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पूर्ण समानुपातिक हुनुपर्ने माग गर्दै आएका विद्यार्थीहरुले विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठीको गाडीमा आगजानी गरेका छन्।
निवासबाट ललितपुरको युएन पार्क हुँदै कीर्तिपुर कार्यालय जाने क्रममा त्रिपाठी चढेको बा २ च ५६५० नम्बरको गाडीमा सोमबार विहान आगजानी भएको हो। आगजानीबाट गाडी पूर्ण रुपमा जलेको छ। ‘म र चालकलाई झर्न लगाएर विद्यार्थीहरुले गाडीमा आगो लगाएर भागे’ त्रिपाठीले भनिन्।
विप्लवले नेतृत्व गरेको माओावदी निकट मानिने अनेरास्ववियु (क्रान्तिकारी)सहित साना दल निकट ६ वटा संगठन त्रिविले घोषणा गरेको चुनावको विपक्षमा छन्। उनीहरुले चुनावलाई पूर्ण समानुपातिक वा मिश्रित बनाउनुपर्ने माग गर्दै आएका छन्। क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले असन्तुष्ट विद्यार्थीले गाडीमा आगो लगाएको बताए।
‘फागुन १४ गते चुनाव हुन दिदैंनौ । हाम्रो मागलाई केहि मात्रामा मात्र सम्बोधन गरेपनि फागुन महिनाभित्रमा चुनाव हुन सक्छ,’ सिंहले भने। त्रिपाठी स्ववियु निर्वाचन परिचालन समितिकी संयोजक हुन्। आफूहरुको माग पुरा नगरी स्ववियु चुनाव नगराउन धम्की आउन थालेपछि त्रिपाठी आफ्नो नियमित गन्तव्य छोडेर युएन पार्क हुँदै कार्यालय गएकी थिइन्।
नेविसंघको एक समूहले पनि स्ववियुमा २८ वर्षे उमेर हदवन्दी र निर्वाचन प्रणालीको विषयमा विरोध गर्दै आएका छन्। आगजानीबारे प्रहरीमा खबर गरेपनि दोषीलाई पक्राउ गरिएकोबारे कुनै जानकारी नआएको त्रिपाठीले बताइन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिपाठीको गाडीमा आगजानी गर्नेको पहिचान गरेर कारवाही गर्न सरकारसंग माग गरेको छ।
संघका अध्यक्ष योगेन्द्र नारायण बडबरियाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्न संघ सरकारसंग जोडदार माग गर्दछ।’
0 comments
Write Down Your Responses