प्रवास
»
नेपाली युवक ११ महिनादेखि साउदी जेलमा1
नेपाली युवक ११ महिनादेखि साउदी जेलमा1
इलाम– वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका दानाबारी गाउँका एक युवक ११ महिनादेखि त्यहींको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन् । उनले आफूलाई जेलबाट छुटाएर घर फर्काइदिन परिवारजनमार्फत सरकारलाई आग्रहसमेत गरेका छन्

।
दानाबारी गाविस–३ शुक्रबारे बजारका २९ वर्षे प्रेमबहादुर राई साउदीको नदिम रियाद जेलमा रहेको उनका दाजु चक्रबहादुरले जानकारी दिए । सन् २०१२ मा साउदी पुगेका प्रेम घर आएर पुनः जनवरी २०१६ मा त्यही कम्पनीमा कामका लागि गएका थिए । उनी अल सहलावी कम्पनीको गाडी (लहरी) चलाउँथे । आफूले चलाएको गाडीमा रहेको केबलतार चोरी भएपछि उनी त्यसैको आरोपमा जेलजीवन बिताउन बाध्य भएका हुन् ।
‘जेलमा तिर्खा लागेका बेला पानीसमेत पिउन दिइएको छैन,’ भाइले आफूसँग पोखेको दुःख सुनाउँदै चक्रबहादुरले भने, ‘कम्पनीले गलत आरोप लगाएर जेलमा सडाइरहेको छ ।’ गाडीमा रहेको सामान लिएर जाँदै गर्दा १० किलोमिटर टाढा पुगेपछि गाडी रोकेर उनी साथी भेट्न गएका थिए । त्यहीबेला लहरीसहित तार चोरी भएको थियो । २ दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा गाडी भेटिएपनि तार भने भेटिएन । यही आरोपमा उनले २ महिना कैद र ५० कोर्राको सजाय भोगिसकेका थिए । तर, घर फर्कने बेला पुनः कम्पनीले अर्को मुद्दा लगाएर विमानस्थलबाटै पक्राउ गराइ उनलाई ३ लाख रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिमाना तोकेको छ ।
यो रकम तिर्ने उपाय नभएपछि राई ११ महिनायता जेलमै रहेको चक्रबहादुरले सुनाए । ‘अब भाइको घर फर्कने इच्छा त सपना मात्रै होलाजस्तो भएको छ,’ चक्रबहादुरले भने, ‘जेलमा दिनहुँ शारीरिक र मानसिक यातना सहन उनलाई निकै गाह्रो भइरहेको छ ।’ पीडित परिवारले उनको रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा समेत आग्रह गरेको थियो । तर, अहिलेसम्म उनको कागजात लैजानेबाहेक केही सहयोग हुन नसकेको परिवारजनले बताएका छन् ।
दूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा उनीहरूले राईको कागजात चाहिँ लगेका छन् । ‘यत्रो महिना भइसक्यो अहिलेसम्म कुनै काम नहुँदा भाइ जेलमै बस्न बाध्य छन्,’ चक्रबहादुरले भने, ‘सरकारले कुनै पहल गरिदिए हुन्थ्यो ।’ राई काठमाडौंको क्राउन इन्प्लोइमेन्ट प्रालिबाट लहरी ड्राइभिङमा साउदी गएका हुन् । आर्थिक अवस्था दयनीय रहेका राईको घरमा सुत्केरी पत्नी र वृद्ध आमा–बाबु मात्रै छन् ।
0 comments
Write Down Your Responses