समाचार
»
टर्किसको निष्क्रिय विमानमा अब नेपाली झन्डा फहराउने छ
टर्किसको निष्क्रिय विमानमा अब नेपाली झन्डा फहराउने छ
२०७१ फागुन २० गते त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा धस्सिएर दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान अब सँधैको लागि ग्राउन्डेड भए पनि यसमा नेपाली झन्डा फहराउने छ।
बेद उप्रेती ट्रष्टले काठमाडौंको सिनामंगलमा बनाएको हवाई संग्राहलयको लागि प्रयोग हुने यो विमानमा नेपाली झण्डा फहराउने छ।
हाल धनगढीमा यस्तै प्रकारको संग्राहलय संचालन गरिरहेको वेद उप्रेति ट्रष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै संग्राहलयको निर्माण गरिरहेको छ।
यसको लागि 'डिजेबल' उक्त विमानलाई 'एसेम्बल' गर्ने काम सकिएको ट्रष्टका सिइओ बेद उप्रेतीले जानकारी दिए। एसेम्बलको लागि टर्कीबाट प्राविधिकहरु आएका थिए।
काठमाडौंमा दुर्घटनामा परेको टर्किसको ए–३०० सिरिजको विमानका महत्वपुर्ण पार्टसहरु लिएर बाहिरको कभर बिक्री गर्ने निष्कर्षमा एयरलाइन्स पुगेको थियो। टर्किसको उक्त विमान ट्रष्टले एक करोड रुपैयाँमा किनेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उक्त विमानलाई दश टुक्रा बनाएर अघिल्लो महिना मात्र सिनामंगलको शसत्र प्रहरी क्याम्प छेउमा सारिएको थियो। टुक्रा पारेर सार्ने र त्यसलाई पुनः एसेम्बल गर्न टर्किस एयरका प्राविधिकहरु खटिएका थिए।
नेपालमा प्राविधिकहरु नभएको र जोखिमपुर्ण हुने भएकोले टर्कीबाटै प्राविधिकहरु ल्याइएको उप्रेतीले जानकारी दिए।
६ करोडभन्दा माथि लागत लाग्ने अनुमान गरिएको यो संग्राहलयमा ट्रष्ट र नागरिक उड्डयन प्राधिकरणको संयूक्त स्वामित्व हुने बताइएको छ। सन् २०१७ को जुलाईसम्म संचालनमा ल्याइसक्ने बताउने उप्रेतीले उक्त संग्राहलयभित्र हवाई उड्डयन क्षेत्र सम्बन्धि सबै जानकारीमुलक सामग्रीहरु समाबेस गरिने बताए।
४ सय ४० सिट अत्याधिक क्षमता भएको यो विमानमा बन्ने संग्राहलय संसारकै पहिलो हुने उप्रेतीको भनाइ छ।
‘यो एयरबसको एन सिरिजको विमान हो,उडेको नौ महिनामै दुर्घटनामा पर्यो’ उनले भने,‘यो हाम्रो सौभाग्य भनौं कि दुर्भाग्य तर यो संग्राहलय संसारकै पहिलो हुने छ।’
दुईवटा इन्जिन भएको वाइड बडी यो विमान २ सय ८ फिट अग्लो, ५५ फिट चौडा छ। उक्त विमानभित्र हवाई सुरक्षा र एयरहोस्टेजको तालिम तथा सेमिनारको व्यवस्था पनि हुने उप्रेतीले जानकारी दिए।

विद्यार्थीलाई निशुल्क
सरकारले जग्गा उपलब्ध गराएबापत ट्रष्टले मासिक रुपमा करिब ३ लाख भाडा तिर्ने उक्त संग्राहलयमा प्रवेसको लागि शुल्क कति निर्धारण गर्ने भनेर अहिले टुंगो लागेको छैन। तर कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई भने निशुल्क प्रवेसको व्यवस्था हुने पाइलट उप्रेतीले जानकारी दिए।
0 comments
Write Down Your Responses