स्त्री हर्मोनले पुरुषलाई के–के रोग लाग्छ ? -डा. अर्जुनदेव भट्ट
उमेर बढ्दै जाँदा पुरुषको शरीरमा पुरुष हर्मोनको स्तर घट्दै जान्छ । सामान्य अवस्थामा पुरुष शरीरमा पनि स्त्री हर्मोन विद्यमान हुन्छ । पुरुषको उमेर बढ्दै जाँदा स्त्री हर्मोन भने पहिलेकै स्तरमा रहन्छ । फलस्वरुप पुरुष शरीरमा यी दुवै हर्मोनको सन्तुलन हराउँछ र उच्च स्त्री हर्मोनले गर्दा ‘प्रोस्टेट ग्रन्थी’को बृद्धि हुन्छ । प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा एकनासले बृद्धि नभएर दाँया–बाँया वा बीचको भागमा विशेष आकारले बृद्धि हुन सक्छ । ग्रन्थीको बीच भाग बृद्धि हँुदा बिरामीको मुत्र निस्कासनमा सबैभन्दा बढी समस्या हुनेगर्छ । विभिन्न कारणले प्रोस्टेट ग्रन्थी बढ्नुको सट्टा सुकेर सानो हुँदा त्यसले मुत्र निस्कासनमा नराम्रो असर पार्नेगर्छ ।
यो रोगको लक्षण बिस्तारै देखिने खालको हुन्छ । किनकि, ग्रन्थी सानो वा ठूलो हुने कुरामा वर्षौं लाग्नेगर्छ । केही बिरामीले शरीरमा घटिरहेका परिवर्तनलाई अनुभव गर्न नसक्दा वा बेवास्ता गर्नाले एकैपटक पिसाब फेर्न नसक्ने अवस्थामा अस्पताल आइपुग्छन् । अर्काथरी बिरामीहरू पिसाब फेरेपछि पनि बाँकी रहेको पिसाबले मुत्रथैली, मुत्र बाहीनी नली र मृगौला फुलेर राति सुतेको समयमा ओछ्यानमै पिसाब चुइने भएपछि मात्र चिकित्सकलाई देखाउन आउँछन् । प्रोस्टेट ग्रन्थीका कारण छिटोछिटो पिसाब लाग्ने, तुरुन्त पिसाब नखुल्ने, पिसाब रोक्नै नसकी चुहिने, कनेर पिसाब फेर्नुपर्ने, रातभर पिसाब फेर्न उठ्नुपर्ने, पिसाब फेरेपछि निख्रेको आनन्द नहुने जस्ता लक्षण देखिन सक्छन् ।
पिसाबमा रगत जाने, मुत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउने जस्ता लक्षण पनि प्रोस्टेट ग्रन्थी संक्रमणको कारण हुन सक्छ । तर, पुरुषमा देखा पर्ने यस्ता लक्षण प्रोस्टेट ग्रन्थीकै कारण भएको भन्न मिल्दैन । मुत्रथैलीको मांशपेशी बढी सक्रिय भएर पनि यस्ता लक्षण देखिन सक्छ । मुत्रथैली वा प्रोस्टेट क्यान्सर, मुत्रथैलीको पत्थरी वा मधुमेहले नसामा पारेको नकारात्मक असरले गर्दा पनि मुत्रथैलीमा समस्या आएको हुन सक्छ । प्रोस्टेट ग्रन्थी बृद्धि वा सानो भएका पुरुषको मुत्र प्रवाह जाँचेर हेर्नु महत्वपूर्ण सूचना उपलब्ध गर्ने तरिका हो । त्यसका आधारमा कस्ता बिरामीलाई शल्यविधिले उपचार नगरी हँुदैन र कस्तालाई औषधिले व्यवस्थापन गर्न सकिन्छ भन्ने निर्णय लिन सजिलो हुन्छ ।
जाँचे मात्र थाहा हुन्छ
प्रोस्टेट ग्रन्थीको संक्रमण हो÷होइन भन्ने यकिन गर्न पिसाब जाँच गर्नु उत्तम विकल्प हो । चिकित्सकले सोधपुछ तथा विभिन्न परीक्षणबाट थाहा पाउने सूचनाबाहेक बिरामीको पिसाब जाँच गरेर संक्रमण भए/नभएको वा रगत देखा परे/नपरेको निक्र्यौल गर्नुपर्छ । त्यसबाहेक पिसाबबाटै एल्मुमिन, प्रोटिन, चिनी भए/नभएको र त्यसको मात्रा थाहा पाउन सकिन्छ । रगत परीक्षण गरेर शरीरमा रगतको मात्रा ठिक छ÷छैन, मृगौलाको काम गर्ने क्षमता कस्तो छ साथै क्रिटिनिन, युरिया, युरिक एसिड, सोडियम, पोटासियम, सुगर र अन्य केही महत्वपूर्ण जाँच गरी शरीरको अवस्था बुझ्न सकिन्छ । पेटको अल्ट्रासाउन्ड गरेर कलेजो, पित्तथैली, फियो, मृगौला, पिसाब थैली जस्ता अंगको अवस्था जानकारी लिन सकिन्छ । परीक्षणबाट प्रोस्टेट ग्रन्थीको तौल, त्यो कतातिर बढेको र पिसाब थैलीभित्र बीचको भाग कति घुसेको छ भन्ने थाहा हुन्छ । अल्ट्रासाउन्ड पहिला पिसाबको थैलीमा आफूले रोक्न सक्ने मात्रामा पिसाब संकलन गरी गराइन्छ । त्यसपछि पिसाब फेरेर कति बाँकी रह्यो त्यो नापेर हेर्नुपर्छ । ५० मिलिलिटरभन्दा बढी पिसाब बाँकी रहेमा त्यसलाई निखार्न उपचारका निम्ति सल्लाह लिनुपर्छ ।
माथिल्लो र तल्लो पिसाब प्रणालीको अल्ट्रासाउन्ड गरेपछि प्रोस्टेट ग्रन्थीबारे थप सूचना प्राप्त गर्न टीआरयूएस जाँच गर्नुपर्ने हुनसक्छ । यो थप परीक्षण गर्न मलद्वारमा दिसा नभएको अवस्था हुनुपर्छ । यो पनि अल्ट्रासाउन्ड जस्तै जाँच हो, तर मलद्वारभित्र पनि एउटा यन्त्र प्रवेश गराएर ग्रन्थीबारे अझै बढी अध्ययन गरिन्छ । यो जाँच सबै बिरामीले अनिवार्य रूपमा गर्नु पर्दैन । यस्तै, पिसाब फेर्न गाह्रो अनुभव भए वा पिसाब जाँच गर्दा रगतमा आरबीसी भए र युरोफ्लो मेट्रिमा पिसाबको प्रवाह ज्यादै घटे ‘सिस्टोस्कोपी’ जाँच गर्नुपर्छ । यो दूरबिन लगाएर पिसाबको थैली र मुत्रनली जाँच्ने विधिबाट पिसाबमा रगत देखिनाको कारण, पिसाब फेर्न असजिलो हुनुको समस्या र यूएफएममा क्युम्याक्स घट्नुको कारण पत्तो लाग्न सक्छ ।
प्रोस्टेटको शल्यक्रिया गर्ने कि नगर्ने ?
जुन उमेरमा बिरामीलाई मुत्र प्रवाहमा प्रोस्टेट ग्रन्थीले नराम्रो असर पार्छ त्यही उमेरमा शल्यक्रिया गर्नुपर्छ । सामान्यतया उमेर शल्यक्रियाको बाधक हुँदैन । मृगौला, कलेजो, फोक्सो, मुटु आदिको गहिरो परीक्षण गरेर बिरामीले शल्यक्रिया धान्न सक्ने वा थप तयारी गर्नुपर्ने त्यसको निर्णय गरिन्छ । पिसाब रोकिनुको कारण प्रोस्टेट ग्रन्थी हो भन्ने पक्का भए त्यसको निदानको उपाय भनेकै प्रायःजसो शल्यक्रिया नै हो । प्रोस्टेट ग्रन्थीको कारणबाट पिसाबसँगै रक्तस्राव भएको अवस्थामा पनि प्रोस्टेटको शल्यक्रिया गर्नुपर्छ । प्रोस्टेटका बिरामीले बारम्बार पिसाब संक्रमण, मुत्रथैलीको पत्थरी र थैलीमा ‘डाइभटिक्युलम’को सामना गर्नुपरे शल्यक्रिया गरिहाल्नु पर्छ । पिसाब ननिख्रेर मुत्रथैलीमा जम्मा भई मुत्रथैली र मृगौला फुलेर राति सुतेको समय ओछ्यानमा पिसाब हुने गरे शल्यक्रिया उत्तम उपचार हो । यस्ता बिरामीको मृगौलाको काम गर्ने क्षमता ह्रास भएर क्रिटिनिन र युरियाको रक्तस्तर बढ्नाले शरीरमा सन्तुलन गुम्दछ ।
रगतमा हेमोग्लोबिनको स्तर घट्छ । बिरामी ज्यादै सिथिल र आफ्नो रेखदेख आफैँ गर्न नसक्ने अवस्थासम्म पुग्न सक्छ । त्यसैले शल्यक्रियाका निम्ति अनिवार्य सबै तयारी गरेर सक्दो छिटो शल्यक्रिया गर्नु मृगौलाको बचाउ गर्नु हो । बारम्बार कनेर मसिनो धारा भएको पिसाब फेरिराख्नुपर्ने, रातको समयमा पनि पिसाब फेर्न निरन्तर उठिरहनुपर्ने, जति पिसाब फेर्दा पनि निखार्न नसक्ने र कन्नु पर्ने भएकाले हर्निया र पाइल्सजस्ता रोगबाट पनि थप पीडित भएका बिरामीले शल्य उपचारलाई प्राथमिकता दिनुपर्छ । युरोफ्लो मेट्रिमा मुत्र प्रवाहको उच्चतम चुचुरो १० मिलिलिटर प्रतिसेकेन्ड वा त्यो भन्दा कम भएकाले औषधि प्रयोग गरेर पर्खिनु भनेको शल्यक्रियाले दिनसक्ने सुविधालाई आत्मसात् नगर्नु मात्र हो । प्रोस्टेट ग्रन्थीको तौलको हिसाब गरेर भन्दा पनि बिरामीलाई ग्रन्थीले कतिसम्म समस्या पारेको छ भन्नेबारे वस्तुगत लेखाजोखा गरेर शल्यक्रियाबारे निर्णय गर्नुपर्छ ।
कस्ता बिरामीलाई औषधि ?
जुनसुकै कारणले भए पनि शल्यक्रियाको निम्ति अनुपयुक्त र ज्यादै ठूलो जोखिम भएका बिरामीले शल्यक्रियालाई नअपनाएर औषधि–उपचारबाटै रोग मत्थर पार्ने अवस्था आउँछ । तर, शल्यक्रिया प्रदान गर्ने संस्थाको क्षमतामा पनि शल्यक्रिया गर्ने वा नगर्ने भन्ने निर्णय फरक–फरक पर्न सक्छ । मुत्र प्रवाहको उच्चतम चुचुरो १५ मिलिलिटर प्रतिसेकेन्डभन्दा बढी र पिसाब फेरेपछि मुत्रथैलीमा १० मिलिलिटरभन्दा कम पिसाब बाँकी हुने बिरामीले औषधि–उपचारमार्फत केही समय शल्यक्रियालाई पछि सार्न सक्छन् । त्यस्ता बिरामीले औषधि–उपचारबाट पाएको फाइदामा चित्त बुझाउनै पर्ने हुन्छ । त्यसको अलावा प्रतेक तीन देखि ६ महिनाभित्र चिकित्सकसँग परामर्श गर्ने र विभिन्न जाँच गर्नुपर्ने हुन्छ । त्यसका आधारमा चिकित्सकले हाल शल्यक्रिया गर्ने वा नगर्ने यकिन गर्न मिल्छ । बिरामीले आफ्नो खानपिनमा पनि तरल पदार्थ तथा पानीलाई व्यवस्थित ढंगले नियन्त्रण गर्नुपर्छ । -स्वास्थ्य खबरपत्रिकाबाट
0 comments
Write Down Your Responses