Welcome to ...

करिश्माले दुई सय कलाकारलाई नयाँ शक्तिमा प्रवेश गराइन् read
काठमाडौंः कलाकार राजनीति पार्टीमा प्रवेश गर्ने लहर चलिरहका बेला बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीले पनि आइतबार केही कलाकारलाई पार्टी प्रवेश गराएको छ। नयाँ शक्ति पार्टी स्थापना काल देखिनै नायिका करिश्मा मानन्धर सक्रीय रुपमा लागेकी छिन्। नायिका मानन्धरको नेतृत्वमा रहेको सांस्कृतिक विभाग एवं समृद्धि सांस्कृतिक अभियानले राजधानीमा कार्यक्रम गरी दुई सय बढी कलाकारलाई आफ्नो पार्टीमा प्रवेश गराएकी हुन्। नायक प्रज्ज्वल गिरीको नेतृत्वमा एक सय ९३ जना र रोल्पाका कलाकार देवीराम राना मगरको नेतृत्वमा ३० गरी दुई सय २३ जना कलाकार नयाँ शक्तिमा प्रवेश गरेको नीजि सचिवालयको दावी छ।पार्टी प्रवेश गर्ने कलाकारमा सुरज महर, दिनेश सिंह ठकुरी, कुसुम लामा, संगीता खड्का, अमृता नेपाल, नन्द घर्तीमगर, तलसा घर्तीमगर, राधा रानामगर, दिपक विक, दर्सना तिरुवा, जेनी राना, मिलन आले मगर लगायत रहेका छन्। नवप्रवेशी कलाकारलाई स्वागत गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकारहरु देशको विकास र समृद्धिका सहयात्री भएकोले कलाकारिताको माध्यमबाट समृद्धिमा जुट्न आग्रह गरे। उनले देशका कुना काप्चामा अदृश्य रुपमा रहेको प्रतिभा उजागर गर्दै विश्वसामु चिनाउन कलाकारहरुलाई आग्रह गरे।कार्यक्रममा नयाँ शक्तिकी सांस्कृतिक विभाग प्रमुख करिश्मा मानन्धारले पारम्परिक राजनीतिमा कलाकारलाई गहनाको रुपमा मात्र सजाउने गरिएकोमा असन्तुष्टी जनाउँदै कलाकारिता क्षेत्रलाई पनि राजनीतिमा समान स्थान दिइनुपर्ने बताइन्।उनले नयाँ शक्तिले सांस्कृतिक क्षेत्रलाई महत्वपूर्ण अङ्गको रुपमा ग्रहण गरेको समेत दावी गरिन। नवप्रवेशी कलाकार प्रज्ज्वल गिरीले नयाँ शक्तिले लिएको आर्थिक विकास र समृद्धिप्रति ऐक्यबद्धता जनाउँदै देशको समृद्धिको चाहना पूरा गर्न आफूहरु पार्टीमा एकताबद्ध भएको बताए। कार्यक्रममा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रवक्ता खिमलाल देवकोटा, प्रवास संयोजक नवराज सुवेदी, आंगिक संगठन प्रमुख कुमार पौडेल, ४ नं. प्रदेश संयोजक बलावती शर्मा, १ नं. प्रदेश संयोजक पासाङ शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो।

0 comments

Write Down Your Responses