मुख्य सहरमा अनलाइनबाट फारम भर्ने तरिका सिकाइँदै
अनलाइनबाट फारम भर्दा समस्या नहोस् भनेर काठमाडौंसहित बुटवल, पोखरा र धरानमा अनलाइन फारमबारे जानकारी दिनुका साथै सरोकारवालासँग अन्तरक्रिया गर्न लागेको शाखाका प्रमुख बाबुराम खतिवडाले बताए।
अनलाइनका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोखरा, बुटवल, धरान र ७ गते काठमाडौंमा साइबर सञ्चालक, कोरियन भाषा सिकाउने इन्स्टिच्युट तथा सर्वसाधारणलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम गरिने।
खतिवडाका अनुसार अनलाइनबारे सर्वसाधारणलाई जानकारी दिन फागुन २५ गते पोखरा, २७ गते बुटवल, चैत ६ गते धरान र ७ गते काठमाडौंमा साइबर सञ्चालक, कोरियन भाषा सिकाउने इन्स्टिच्युट तथा सर्वसाधारणलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम गर्ने तय भएको छ। विगतका वर्ष फारम दर्ता गर्दा घन्टौं लाइनमा बस्नुपर्ने अवस्था थियो।
कोरिया शाखाले पहिलोपटक अनलाइनबाट फारम संकलन गर्ने व्यवस्था मिलाएको हो। गत वर्ष ३१ सय कामदारको कोटा तोकिएकामा करिब ६२ हजार युवायुवतीले भाषा परीक्षाका लागि फारम भरेका थिए। फारम बुझाउनकै लागि लामो समय लाइनमा बस्नु पर्दा आकांक्षीलाई सास्ती भएको थियो भने सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई त्यसको व्यवस्थापन गर्न निकै कठिन हुने गरेको थियो।
सन् २०१८ का लागि कोरियाले नेपाली कामदार कोटा बढाएर तीन गुणाभन्दा माथि पुर्याएका कारण यो वर्ष एक लाख हाराहारीमा भाषा परीक्षााका लागि फारम दर्ता हुन सक्ने अपेक्षा गरिएको छ। सन् २०१८ का लागि कोरियाले १० हजार दुई सय कामदार माग गरेको छ। अघिल्लो वर्ष भाषा परीक्षा पास गरेका कामदार यो वर्षदेखि कोरिया उड्न थालेका छन्। महिनामा सवा लाख रुपैयाँ जति पारिश्रमिक पाइने भएकाले केही वर्ष यता कोरियाको रोजगारी नेपाली युवायुवतीलाई आकर्षक बनिरहेको छ। सन् २००७ यता करिब ४१ हजार युवायुवती कोरिया गइसकेका छन्।
कोरिया जानका लागि पहिलो सर्त भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। भाषा परीक्षा उत्तीर्ण गरेका युवायुवतीको नाम कोरियाको मानव संशाधन मन्त्रालयको रोस्टर सूचीमा प्रकाशित भएपछि कोरियाका रोजगारदाताले कामदार मगाउँछन्। यसपटक भाषा परीक्षाका लागि फारम भर्ने मिति चैत ९ देखि १८ गतेसम्मलाई तोकिएको छ। भाषा परीक्षाको मिति भने जेठ २७ र २८ गते निर्धारण गरिएको छ। भाषा परीक्षाको केन्द्र काठमाडौंमा मात्र राखिएको छ।


0 comments
Write Down Your Responses